|

धनगढी : ‘प्रथम रानाथारू भाषा-साहित्य सम्मेलन-२०८०’ शनिवार धनगढीमा सम्पन्न भएको छ।

राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा उक्त सम्मेलन गरिएको संयोजक पदम रानाले जानकारी दिएका छन्।

कार्यक्रममा रानाथारूको संस्कृतिको कार्यपत्र डा. जीवन राना, रानाथारू इतिहासको कार्यपत्र डा. नरेश राना, रानाथारू भाषाको अवस्थाको कार्यपत्र कमलसिंह रानाले प्रस्तुत गरेका थिए।

रानाथारू भाषाको पहिलो किताब (जगनकृत गीतमाला)का प्रकाशक जगना राना, समाजका संस्थापक लालबहादुर राना, समुदायबाट पहिलो मन्त्री लबरू रानाथारूलाई मरणोपरान्त सम्मान गरिएको थियो। समुदायबाट पहिलो विद्यावारिधि डा. जीवन राना र रानाथारू भाषाका पदावलीको तुलनात्मक अध्ययन -२०६९ का लागि चित्रराज भट्टलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि पूर्व वन तथा वातावरणमन्त्री नारदमुनि राना, विशिष्ट अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका मातृ भाषा(साहित्य) विभाग प्रमुख राजन मुकारुङ, अतिथि नेपाल रानाथारू समाजका अध्यक्ष कृपाराम राना, नेपाल रानाथारू समाजका पूर्व अध्यक्ष तथा समुदायका प्रथम विद्यावारिधि डा. जीवन राना, धनगढी उपमहानगर उपप्रमुख कन्दकला राना, कृष्णपुर नगरप्रमुख मेयर हेमराज ओझा, उपमेयर द्रोपती राना, नेपाल तथा भारतका रानाथारू बुद्धिजीवी, रानाथारू भाषाका ज्ञाता, लोक साहित्यकार, इतिहासविद् तथा भाषाविद् सहभागी थिए।

कार्यक्रममा रानाथारू भाषाका गीत, कविता, साहित्यक रचना वाचन लगायत रानाथारू भाषा लेखन पद्धति र व्याकरणबारे गहन छलफल भएको छ। साथै लोक सांस्कृतिक प्रस्तुति एवं स्रष्टालाई सम्मानित गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.