|

काठमाडौं : विपद्‌ व्यवस्थापनको पूर्वतयारीबारे एभरेस्ट अस्पतालले अन्तर्क्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा सम्भावित प्राकृतिक तथा मानवीय विपद् व्यवस्थापनमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्ति सधैं तयारी अवस्थामा रहनुपर्ने विज्ञहरुले औँल्याएका छन्। एभरेस्ट अस्पतालमा आयोजित सिभिल हब स्याटेलाइट मिटिङमा विज्ञहरुले यस्तो धारणा राखेका हुन्।

छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवंम् स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइका प्रमुख डा प्रकाश बुढाथोकीले विपद्सँग जुध्न इच्छाशक्ति र तयारी दुवै आवश्यक पर्ने बताए।

जाजरकोट भूकम्पमा स्वास्थ्यकर्मी तथा अन्य निकायले उद्धार र व्यवस्थापनमा देखाएको सक्रियताको प्रशंसा गर्दै उनले जतिबेला पनि खट्नसक्ने इच्छाशक्ति हुनुपर्ने बताए। स्वास्थ्यसंस्थाबीचको सहकार्य पनि उत्तिकै महत्वपूर्ण हुने उनले औल्याए।

सिभिल हब स्याटेलाइटका संयोजक प्राडा दिनेशकुमार लम्सालले विपद् व्यवस्थापनमा खाद्यान्न, इन्धन, यातायात सुरक्षा, प्रभावकारी सञ्चार लगायतको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण रहने बताए।

एभरेस्ट अस्पतालका वरिष्ठ जनरल सर्जन डा नरेश गिरीले छलफल र कार्ययोजना बनाउनेभन्दा पनि कार्यान्वयन पक्षमा जोड दिइनुपर्ने बताए। विगतमा भएका त्रुटिहरुमा पाठ सिक्नुपर्ने उनको भनाइ थियो।

नेपालमा विपद् आइरहने भएकाले स्वास्थ्यकर्मी तथा अन्य सबै निकाय सधैं तयारी अवस्थामा बस्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।

एभरेस्ट अस्पतालका प्रमुख प्रशासकीय अधिकृत दिपकचन्द्र बरालले विपद्को पूर्वतयारीमा अस्पताल प्रशासन सचेत रहेको जानकारी दिए। ‘विपद् कुनै पनि समय आउनसक्ने भएकाले हामीले इन्धन, औषधि, खाद्यान्नलगायत अत्यावश्यक सामाग्रीहरुको स्टक राखेका छौँ। कम्तीमा १ हप्तासम्म विपद्को व्यवस्थापन गर्न सकिने गरी पूर्वतयारी गरेका छौं,’ उनले भने।

छलफलमा सिभिल हबमा आबद्ध काठमाडौं र भक्तपुरका २४ अस्पतालका प्रतिनिधिहरू सहभागी थिए। एभरेस्ट अस्पतालका सहकाय प्रशासन प्रमुख  रुपेन लामाले सहजीकरण गरेको कार्यक्रममा अस्पतालका मेडिकल अफिसर डा। प्रकाश महतले सम्भावित विपद् र त्यसको व्यस्थापनबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

सम्भावित विपद्का लागि अस्पतालहरुलाई तयार राख्ने र कुनै विपद् निम्तिएमा अस्पतालहरुबीच सहकार्य गरेर व्यवस्थापन गर्ने लक्ष्यसहित सिभिल हब गठन भएको हो। यसमा एभरेस्ट अस्पताल, सिभिल अस्पताल, फ्रन्टलाईन अस्पताल, भरोसा अस्पताललगायत काठमाडौं र भक्तपुरका २४ अस्पताल आबद्ध छन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.