|

बागलुङ : जागिरमा जीवनको उर्वर समय खर्च गरेका धेरै मानिस अवकाशपछि आराम गर्छन्। तर बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का ३७ वर्षको शिक्षण पेशाबाट अवकाश पाएपछि पनि सक्रिय छन्।

शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाश प्राप्त गरेका उनी अहिले पनि मासिक ३५ हजार पेन्सन बुझ्छन्। तर ७१ वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाएका छन्।

खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो। उनी सुन्तलाबाट वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।

आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै कृषिबाट सन्तुष्ट बनेको खड्काले बताए। उनले आठ रोपनी जग्गामा लगाएको सुन्तला यसपटक चितवनका बजार पुगेको छन् । विगतका वर्षमा धादिङ र पोखराका बजारमा पुगेका सिगानाको सुन्तला चितवनमा पुगेको हो। 

दुई सय सुन्तलाको बोटबाट सुन्तला उत्पादन गरिराखेका खड्का आफू अवकाशपछि यसैमा रमाएको बताउँछन्। ‘परम्परागत कृषि पेसा पुख्र्यौली थियो, मैले धान फल्ने खेतमा सुन्तला खेती गरेको हँ, शिक्षक, प्रधानध्यापक हुँदै स्रोत व्यक्ति बने, ३७ वर्ष लामो जागिरपछि सुन्तलाखेतीमा लागेँ’, उनले भने, ‘अहिले उत्पादन गरेको सुन्तला चितवनको व्यापारीलाई पाँच लाखमा एकमुष्ट बिक्री गरेँ।’

चितवनका व्यापारीले सुन्तला बगैचाबाट नै एकमुष्ट किनेपछि सुन्तला टिप्ने स्थानीय महिलाले समेत रोजगारी पाएका छन्। आगामी वर्ष केही सुन्तलाको रुखले उत्पादन दिन थाल्ने भएपछि आम्दानी वृद्धि हुने खड्काको भनाइ छ। सुन्तला गाउँका रूपमा परिचित सिगानाका करिब १०० किसानले सुन्तला लगाएका छन् । 

‘चितवनको क्षेत्रपुरमा सिगानाको सुन्तला निर्यात भएको छ, हाम्रो  सुन्तला लागिसकेपछि अन्य किसानको समेत सुन्तला चितवन लैजाने व्यापारीको भनाइ छ’, उनले भने, ‘परम्परागत खेतीभन्दा सुन्तलाखेतीबाट धेरै गुणा राम्रो कमाइ गर्न सकिन्छ, सिगानामा मजस्ता धेरै किसान अहिले सुन्तला खेतीमा छन्, सिगानमा सरदर रु तीन करोडसम्मको सुन्तला उत्पादन हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.