|

काठमाडौं : नेपाली कांग्रेसको प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को नौ बर्षपछि हुन लागेको महाधिवेशनको उद्घाटन गर्ने समयसम्म महाधिवेशन प्रतिनिधिको टुंगो लाग्न नसक्दा भाँडिने अवस्थामा पुगेको छ।   

मातृ पार्टी कांग्रेसको एकीकरणसँगै दुई पटक महाधिवेशन भएपनि नेविसंघको प्रत्येक २ वर्षमा हुनुपर्ने महाधिवेशन भने एक पटक पनि हुन सकेको छैन्। महाधिवेशन गर्न भनेर पार्टीले केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको संयोजकत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन गरेपनि समितिले विवाद मिलाउन नसक्दा महाधिवेशन विवादको घेरमा परेको छ।

६४ जिल्लाको अधिवेशन विवादरहित ढंगले सम्पन्न भएको सबै पक्षले स्वीकारे पनि ती जिल्लाको अधिवेशन भएको पनि दुई बर्ष भन्दा बढी भयो। बिबादित ११ वटा जिल्लाको अधिवेशन नैं नगरी केन्द्रीय प्रतिनिधिको रोहवरमा सर्वसम्मतले प्रतिनिधि छनौट गर्ने प्रयास पनि असफल भएको छ। महाधिवेशनमा कति प्रतिनिधिले भाग लिन्छन् भन्ने बिषयमा स्वयं अध्यक्ष रञ्जित कर्ण पनि अनभिज्ञ छन्। कर्ण भन्छन् ‘सहमतिको प्रयास भइरहेको छ, करीब तीन हजार जति महाधिवेशन प्रतिनिधि हुने सम्भावना छ।’

महाधिवेशन प्रतिनिधिहरुको को को हुन् र कतिको संख्यामा महाधिवेशन प्रतिनिधिलाई आवास र खानाको व्यवस्था गर्ने भन्ने बिषयमा समेत अन्यौल भएको केन्द्रीय सदस्य नारायण ढुंगानाले बताए।

महाधिवेशन प्रतिनिधिको टुंगो नलागेपनि एक सय ५१ पदको केन्द्रीय समितिमा करिब पाँच सय विद्यार्थीहरु चुनावी मैदानको प्रतिष्पर्धामा छन्। सभापति पदमा मात्र १२ जनाले उम्मेदवारी घोषणा गरेका छन्। नेविसंघको बिधानमा हालको तदर्थ समितिको कोही पनि चुनावी प्रतिष्पर्धामा उत्रन पाउँदैनन् तर तदर्थ समितिका केन्द्रीय सदस्य क्षितिज भण्डारीले समेत सभापति पदमा उम्मेदवारी दिएको भन्दै चुनावी प्रचारको दौडमा अग्रणी स्थानमा छन्। उनले राजीनामा दिएको दावी गरेका छन् तर उनको राजीनामा स्वीकृत छैन।

सभापतिमा संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा) बाट जीतजंग बस्नेत र नैनसिंह महरले आकांक्षा राखेका छन्। दुई मध्ये कसलाई आधिकारिक उम्मेदवार बनाउने भन्ने निष्कर्षमा सभापति देउवा पुगेका छैनन्।

यता नेता रामचन्द्र पौडेल प्यानलबाट मनोजमणि आचार्यले सभापतिको चुनावी मैदानमा प्रतिष्पर्धा गर्ने भन्दै प्रचारमा दौडिएका छन्। तेश्रो धार अर्थात कृष्णप्रसाद सिटौला पक्षधर भएर कुन्दन काफ्ले सभापतिको प्रतिस्पर्धामा छन्। उनले अघि सारेको बैधानिक महाधिवेशनको माग राख्दै दुई जना नौ दिनदेखि आमरण अनसनमा बसेका छन्। 

नेता पौडेल पक्षधर निर्देशक समितिले कुन्दन नेतृत्वको नेविसंघ प्यानललाई वाइपास गर्न खोजेपछि महाधिवेशन प्रतिनिधिको नामावलीलाई अन्तिम रुप दिन समेत समस्या भएको एक नेताले बताए। संस्थापन पक्षबाट निर्देशक समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य गोविन्द भट्टराईले संयोजक डा. महत, सदस्यहरु किशोरसिंह राठौर र प्रदीप पौडेललाई असहयोग गरिरहका छन्। निर्देशक समिति सदस्य गुरुराज घिमिरेले निकासको प्रयास गरिरेको ती नेताले बताए।

पार्टीका कुन नेताको कसलाई समर्थन ?
 

जीतजंग बस्नेत, नैनसिंह महर, सरोज थापा  – शेरबहादुर देउवा 

मनोजमणि अचार्य, निलकण्ठ रिजाल, – रामचन्द्र पौडेल

कुन्दनराज काफ्ले – कृष्णप्रसाद सिटौला

शुभराम बस्नेत – खुमबहादुर खड्का 

सभापतिमा रामप्रसाद अधिकारी, आनन्दराज त्रिपाठी, दीपक भट्टराई, रत्न कार्की र पदमराज पन्तले पनि दावी गरेका छन्। दुई पदको महासचिवमा डिल्लीराम सुवेदी र उर्मिला थपलियाबीच नैं प्रतिष्पर्धा हुने देखिन्छ। महासचिवमा युवराज पाण्डे, पुष्पकुमार शाही, मनोज बैद्यले आकांक्षा राखेका छन्। 

त्यस्तै उपाध्यक्ष ११ पद निर्वाचित हुने सिटमा तीन दर्जन बढीले आकांक्षा राखेका छन्। त्यसका लागि प्रदेश ३ बाट सबैभन्दा बढी आकांक्षीहरु देखिएका छन्। यो प्रदेशबाट उपाध्यक्षमा कृष्णकुमारी बस्नेत (मोटी), गणेश पौडेल, महेन्द्र राउत र भरत खड्का प्रतिष्पर्धामा उत्रिएका छन्। 

उपाध्यक्षमा प्रदेश १ बाट कृष्ण कार्की, खेम पौडेल, प्रदेश २ बाट परमेश्वर साह, खगेन्द्र शर्मा, पमेन्द्र पाठक प्रतिष्पर्धामा छन्। त्यस्तै, प्रदेश ४ बाट लक्ष्मीभक्त खनाल, ५ बाट हिमालजंग श्रेष्ठ, मिना गिरी मुक्ति पौडेल, ६बाट कृष्णप्रसाद जैशी र खड्ग डाँगी र प्रदेश नम्वर सातबाट राजन कुँवरको नाम चर्चामा छ।

कोषाध्यक्षमा अञ्जना अर्याल, शिवप्रसाद रिमाल र साधना घिमिरेले प्रतिस्पर्धा पर्दैछन्। उपत्यकाबाट सहमहामन्त्रीमा भने पुष्पराज जोशीको मात्र प्रचार देखिएको छ। 

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली नपाएका कारण मतदान प्रक्रियाबाट नेतृत्व छनौटको सम्भावना छैन। सहमतिबाट नेतृत्व चयन गर्न नेता पौडेल पक्षधर निर्देशक समिति सदस्य र संघका अध्यक्ष रञ्जित कर्णले बाधा खडा गरिरहेको नेविसंघ केन्द्रीय सदस्य बलदेव तिम्सिनाले थाहाखबरलाई बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.