|

बैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा डडेल्धुराले डोटीमाथि शानदार जित हासिल गरेको छ।

प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने  क्रममा डडेल्धुराले डोटीलाई १० विकेटले पराजित गर्‍यो। 

जितका लागि पाएको ७० रनको सामान्य लक्ष्य डडेल्धुराले १२ ओभर १ बलमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो। जसमा विशाल ऐर ४७ रन र निशान्त बुढाऐर १७ रनमा अविजित रहे। 

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्तो पाएको डोटी १९ ओभर ४ बलमा ६९ रनमा समेटियो। उसका कप्तान भोजराज भट्ट र पारस महतले १५/१५ रन हिर्काए।

डडेल्धुराका लागि कप्तान सुरज देउवाले ४, निरज ऐरले ३ विकेट हात पारे। सुरज खेलका म्यान अफ द म्याच चुनिए।

दोस्रो खेल पनि जितेको डडेल्धुरा क्वालिफायरमा पुग्ने हुने सम्भावना जीवितै छ। भोलि हुने डोटी र बझाङबीचको खेलले क्वालिफायर हुने टिमको टुंगो लाग्नेछ।
बझाङ विजयी भए सोझै क्वालिफायर हुनेछ भने पराजित भए डोटी, डडेल्धुरा र बझाङको नेट रनरेटका आधारमा  क्वालिफायरको टुंगो लाग्नेछ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सह-आयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो।

प्रादेशिक क्रिकेट संघले यस वर्षदेखि २ चरणमा प्रदेश छनोट खेलाइरहेको छ। 

पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भइरहेको छ। दोस्रो चरणमा कैलालीमा एलिट च्याम्पियनसिपका खेलहरू हुनेछन्।

प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा एलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम  सहभागी छन्। 

गतवर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै एलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्। 

प्लेट च्याम्पियनसिपको विजेता टोलीले एलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले बताए।

एलिट च्याम्पियनसिपको उद्घाटन खेल पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.