|

काठमाडौँ: चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ४० लाख मात्रा सिनोभ्याक खोप खेर गएको छ।

उत्पादित मितिदेखि २ वर्षभित्र लगाइसक्नुपर्ने उक्त खोप चीन सरकारको अनुदानमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा पाँच लाख गरी ४० लाख मात्रा खोप नेपाल भित्रिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका अनुसार  यो खोप लगाइसक्नुपर्ने अन्तिम मिति सन् २०२३ डिसेम्बरसम्म मात्रै थियो। यो अवधिमा प्रयोग नभएको उक्त खोप अन्ततः म्याद सकिएर खेर गएको हो।

सिनोभ्याक खोप नेपालमा ल्याइएका वेला धेरै नेपालीले कोभिडविरुद्धको खोप लगाइसकिएको  र यो खोप दोस्रो डोज तथा बुस्टर डोजको रूपमा प्रयोग गर्न नमिल्ने हुँदा प्रयोग नगर्न डब्लुएचओले सुझाव दिएपछि उक्त खोप लगाउने व्यक्ति नेपालमा नभएकाले  खोप अन्य देशलाई पठाउन वा चीन फिर्ता गर्न एक वर्षअघि नै खोप सल्लाहकार समितिले निर्णय गरेको थियो।

यो एक वर्षमा चीन सरकारबाट कुनै प्रतिक्रिया नआएको, खोप प्रयोगका लागि अरू देशमा पनि नपठाइएको र लगाइसक्नुपर्ने म्याद पनि सकिएपछि खोप खेर गएको हो।

झण्डै दुई वर्षदेखि टेकुस्थित केन्द्रीय भण्डार कक्षमा थन्काएर राखिएको उक्त सिनोभ्याक खोपको म्याद सकिएसँगै अब कसरी नष्ट गर्ने भन्ने टाउको दुखाइमा यतिखेर स्वास्थ्य सेवा विभाग रहेको छ।

व्यवस्थापन महाशाखाका प्रमुख डा. सर्वेश शर्माका अनुसार अब म्याद सकिएको खोपलाई कसरी नष्ट गर्ने भन्ने विषयमा खोप शाखा तथा खोप सल्लाहकारको सुझावको आधारमा गरिनेछ। डा. शर्माले भने‚ ‘सिनोभ्याक खोपको म्याद सकिएको छ तर अब यो खोप कसरी नष्ट गर्ने कि के गर्ने भन्ने केही दिनमा थाहा होला।’

खोप फिर्ता लैजान तथा अरू कुनै देशमा लैजान पटक पटक पत्राचार गर्दा पनि यो बीचमा केही उपलब्धि नभएपछि अब यो खोप लगभग नेपालमै नष्ट गर्नुपर्ने अवस्था आएको बताउँछन् आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसिया।

डा. चौरसियाले भने‚ ‘खोप त आयो तर हाम्रोमा प्रयोग गर्न नमिल्ने अवस्था आएपछि आयो। हामीले एक वर्षअघि नै यो खोप फिर्ता लैजान वा अरू देशमा लैजान सकिने भन्दै समन्वय गर्न विभिन्न निकायलाई पत्राचार गरेका थियौँ तर यो बीचमा केही उपलब्धि भएन। अहिले आएर अब खोपको म्याद पनि सकियो। सम्भवतः अब यो खोप नेपालमै नष्ट गरिन्छ होला।’

तत्कालीन समयमै  विज्ञहरूले उक्त खोप नल्याउन सुझाव दिएका दिएका थिए। शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै चीन सरकारले खोप अनुदान दिने घोषणा गरेको हुँदा उक्त खोप ल्याउन दबाव दिएपछि नेपालले उक्त खोप २०७८ चैतमा ल्याउन बाध्य भएको थियो।

 कसरी नष्ट गरिन्छ यति धेरै खोप ?

प्रयोगै नगरी यति धेरै मात्रामा खोप नष्ट गर्नुपर्ने अवस्था सम्भवतः नेपालमा पहिलोपल्ट आएको हो। त्यस कारण अब यो खोप कसरी नष्ट गर्ने भन्नेमा विभाग अलमलमा रहेको आपूर्ति शाखाले जनाएको छ।

डा. चौरसियाका अनुसार अब केही दिनमा अन्य सरोकारवालाको सल्लाहमा विभागअन्तर्गतकै वातावरणीय स्वास्थ्य एवं स्वास्थ्यजन्य फोहर व्यवस्थापन शाखासँग समन्वय गरी खोप नष्ट गरिनेछ।

धेरै मात्रा रहेको खोप नष्ट गर्न सुरक्षानिकायसँगको सहभागितामा मुचुल्का उठाई माइन्यूट गरेपछि मात्रै नष्ट गर्न मिल्ने प्रावधान रहेको व्यवस्थापन महाशाखाले जनाएको छ।

व्यवस्थापन महाशाखाका एक कर्मचारीले भने‚ ‘औषधि तथा खोपहरूको म्याद सकिएपछि नष्ट गर्नुपर्ने छुट्टै प्रावधान छ। यसअघि यसरी नष्ट गर्नुपर्ने खोप तथा औषधिका लागि भने पहिला सुरक्षानिकायसँगको सहभागितामा मुचुल्का उठाएर माइन्यूट गरेपछि मानिसबस्तीदेखि टाढाको ठाउँमा वा ठूला सिमेन्ट फ्याक्ट्रीहरूमा लगेर नष्ट गरिन्थो अथवा उत्पादन गरेकै कम्पनीमा फिर्ता पठाउने प्रचलन थियो तर पहिलोपटक धेरै मात्राको कोभिड खोप नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको अवस्थामा भने कस्तो प्रक्रिया अपनाउने भन्नेबारे अझै छलफल भएको छैन।’

धेरै मात्राको खोप लामो समयसम्म केन्द्रीय भण्डार कक्षमा थन्किएर बस्दा नियमितरूपमा प्रयोग गरिने अन्य खोप भण्डारण गर्न ठाउँ अपुग भइरहेको हुँदा विभागअन्तर्गतको आपूर्ति शाखाले छिटोभन्दा छिटो उक्त खोप नष्ट गर्न चाहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.