|

सल्यान : दुई वर्षअघि सल्यान जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। बिजुलीको भोल्टेज कम भएका कारण थन्किएको प्लान्ट विद्युत् प्राधिकरणले १०० केभीको ट्रान्सफर्मर जडान गरेपछि प्लान्ट सञ्चालनमा आएको हो।​

कोरोना कालमा अक्सिजन अभावमा संक्रमितको मृत्यु हुन थालेपछि संघीय सरकारको ७१ लाख रुपैयाँ अनुदानमा प्लान्ट निर्माण गरिएको थियो। दैनिक ४० लिटरको सिलिन्डर दैनिक ४० देखि ४८ थानसम्म भर्न सकिने क्षमताको अक्सिजन प्लान्ट २०७८ असारमा जडान गरिएको थियो।

विद्युतको भोल्टेज नपुग्ने र जेनेटरबाट आर्थिक भार थेग्न नसक्ने भएपछि जडान गरेको झन्डै दुई वर्षपछि मात्र अक्सिजन प्लान्ट सञ्चालनमा आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए।

अक्सिजन प्लान्ट चलाउन २२० केभीए भोल्टेज चाहिनेमा प्राधिकरणले अस्पताल परिसरमा जडान गरेको ५० केभीएको ट्रन्सफर्मरबाट २०० भन्दा कम भोल्टेज आउँदा विगतमा सञ्चालन हुन नसकेको उनको भनाइ छ।

अक्सिजन प्लान्ट नियमित सञ्चालनमा आउन थालेपछि खाली सिलिन्डर भर्न नेपालगन्ज जानु नपर्ने डा. बुढाको भनाइ छ।

अस्पताल विकास समिति अध्यक्ष प्रमोदकुमार श्रेष्ठले अब जिल्लाका निजी अस्पतालका लागि समेत अक्सिजन उत्पादन गरेर बेच्न सकिने बताए। प्लान्ट सञ्चालनमा आएपछि प्रतिसिलिन्डर भर्न खर्च लाग्ने एक हजार रुपैयाँ पनि बचत भएको उनले बताए।

निमोनियाका बिरामीलाई भने कन्सन्टेटर प्रयोग गर्दै आएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.