|

अमेरिकाको ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको विमानलाई शुक्रबार आपतकालीन अवतरण गराइएको छ । ‘फ्लाइट १२८२’ को विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ५ः०० बजे उडेको र विमानमा ‘चालक दलले चापको समस्या भएको रिपोर्ट गरेपछि’ सुरक्षित रूपमा फर्काइएको थियो,' सङ्घीय उड्ययन प्रशासनले एक्स (ट्वीटरमा)मा लेखेको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विमानको झ्यालको शिशा फुटेको र छतमा इमर्जेन्सी अक्सिजन मास्क झुण्डिएको देखिएको छ ।

विमानमा सवार यात्रु काइल रिङ्करले सिएनएनलाई बताएअनुसार उडान भरेको केही बेरमै झ्याल फुटेको थियो ।

'यो वास्तवमा अचानक थियो । झ्याल भर्खरै बन्द भएको र विमान भर्खर उचाइमा पुगेको थियो । अक्सिजन मास्क बन्द नभएसम्म यसलाई महसुस गरिएन,' उनले सीएनएनसँग भने ।  अर्का यात्रु भि गुयेनले न्युयोर्क टाइम्सलाई बताएअनुसार उडानका क्रममा आएकोे चर्को आवाजले उनलाई ब्यूँझाएको थियो ।

'मैले आँखा खोल्दा सबैभन्दा पहिले मेरो अगाडि अक्सिजन मास्क देखेँ', गुयेनले न्युयोर्क टाइम्ससँग भने, 'त्यसपछि मैले बायाँतिर हेर्दा विमानको झ्यालको शिशा थिएन ।' 

'जव मैले घटनालाई नजिकबाट देखेँ, पहिलो कुरा त मैले सोचें, ‘म मृत्युको मुखमा जाँदैछु’,' उनले थपे ।  राष्ट्रिय यातायात सुरक्षा बोर्ड, एफएए र अलास्का एयरलाइन्सले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् । 

'छ जना चालक दलका सदस्यसहित १७१ जना यात्रु लिएर विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ,' एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 'यस प्रकारको घटना विरलै हुने भए तापनि हाम्रो विमानका चालक दललाई तालिम दिइएको थियो र स्थितिलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न तयार पारिएको थियो,' विज्ञप्तिमा भनिएको छ ।

बोइङ ७३७ म्याक्स ९ विमानले क्यालिफोर्नियाको ओन्टारियोका लागि साँझ ५ः०७ बजे उडान भरेको थियो भने करिब २० मिनेटपछि विमानस्थलमा फर्किएको ‘फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)’ले जनाएको छ ।

फ्लाइटअवेयरका अनुसार यसलाई अक्टोबरमा एयरवर्थी प्रमाणित गरिएको थियो। बोइङले थप जानकारी सङ्कलन भइरहेको र प्राविधिक टोली अनुसन्धानका लागि सहयोग गर्न तयार गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.