काठमाडौं : सरकारले हरेक वर्ष माघ एक गतेका दिन राष्ट्रिय योग दिवस मनाउँदै आएको छ। यो वर्ष पनि ‘गरौँ योग रहौँ निरोग’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी योग दिवस मनाइँदै छ।
पछिल्लो समय नसर्ने रोगहरु बढ्दै गएको बेला मानिसलाई यस्ता जोखिमबाट बचाउनको लागि योग महत्वपूर्ण रहेको बताइन्छ। यस्तै मानसिक स्वास्थ्यको लागि पनि नियमित योग र ध्यान महत्वपूर्ण रहेको विज्ञहरुले बताउँदै आएको छ।
योगले शरीरका समस्त अंगप्रत्यंग र हरेक ग्रन्थीको व्यायाम हुन्छ अनि अंगप्रत्यंगले सही रूपमा काम गर्न थाल्छन्। नियमित रूपमा योगको साधना गर्नाले रोगसँग लड्ने शक्ति बढाउँछ।
फलस्वरूप मानिस निरोगी बनाउने योगका साधकहरुले बताउँदै आएका छन। शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न योगको महत्त्व कति छ यसबारेमा योगगुरु डा.चिन्तामणि गौतमसँग थाहाकर्मी सविना खनालले गरेको कुराकानीको सम्पादित अंश :
खासमा योग के हो?
सजिलो भाषामा भन्दा मनलाई शरीर र आत्मासँग जोड्नु नै योग हो। योग भनेको साधना हो। योगको उत्पत्ति संस्कृत शब्द 'युज’ बाट भएको मानिन्छ।
युजको अर्थ 'जोड्नु’ वा 'मिलाउनु’ हो। यौगिक क्रियाहरूको माध्यमबाट शरीर, मन र आत्माका बीच संयोग स्थापित गर्नु नै योग हो। अङ्गप्रत्यङ्गको आसनभन्दा अघि बढेर आफ्नो चैतन्य खोज्न योग गरिन्छ।
विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु र आत्म-साक्षात्कार गर्नु नै योग हो।
नसर्ने रोगहरूको न्यूनीकरणका लागि योगको महत्व कति छ?
हाम्रो शरीर जति सक्रिय भयो उति नै रक्तसंचार प्रणाली राम्रो हुने गर्छ। यसले गर्दा पनि हाम्रो प्रतिरक्षा प्रणाली बलियो बनाउँदै लैजान्छ। जुन कुरा विभिन्न अध्ययन र स्वयम नियमित योगको साधना गर्ने व्यक्तिहरुले पनि भन्दै आउनुभएको कुरा हो।
उपयुक्त तरिकाले योग गर्न सकेमा सबै अंग, प्रत्यंग र ग्रन्थीहरूको व्यायाम हुन्छ र सबै अंगलाई सहज बनाइदिन्छ। तर सही तरिकाले नगरिएको योगले हामीलाई फाइदाभन्दा बेफाइदा गर्छ। योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ।
योगले तनाव भगाउँछ।, मिठो निद्रा लगाउँछ, भोक जगाउँछ र पाचनप्रक्रियालाई सही ढंगबाट चलाउँछ। नियमित योगाभ्यासले शरीरमा चिनी र कोलस्ट्रोलको मात्रा घटाउँछ।
यसले गर्दा हामीलाई नसर्ने रोग लाग्नबाट पनि बचाउँछ। यति मात्रै होइन नियमित योग गर्नाले सरुवा रोगहरूसँग लड्न सक्ने प्रतिरक्षा प्रणाली पनि बलियो बनाउँछ।
नियमित योग गर्दा कस्ता खानेकुरा खाने?
शरीर तन्दुरुस्त बनाउन र अनेक रोगव्याधीबाट छुटकारा पाउन मानिस नियमित योग गर्ने गर्दछन्। योगपश्चात् यसबाट हुने फाइदाहरुलाई ग्रहण गर्नको लागि सन्तुलित र स्वस्थ खानाको उति नै महत्व छ।
योग नियमित गर्ने तर खानेकुरा जथाभावी खाने गर्यो भने हाम्रो शरीरलाई फाइदा होइन झन् बेफाइदा बनाइरहेको छ।
त्यसैले योगको साधना गर्दा खानाको अनुशासन पनि उति नै पालना गर्नुपर्छ। हुन त सुपाच्य, सन्तुलित खाना योगको साधना नगर्नेहरूले पनि खानुपर्छ।
योग गर्दा सकभर सुपाच्य, सन्तुलित आयुर्वेदिक, ताजा तथा मौसमी खानेकुरा खानुपर्छ। यस्तै, बुझ्नुपर्ने कुरा के हो भने योगको साधना गर्दा आफ्नो शरीरलाई चाहिने जति मात्रै खानेकुरा खानुपर्छ।
यस्तै, एकपटक खाएपछि ३ घण्टा नखाने, धेरै खानेकुराको परिकारहरु एकैपटक खाने गर्नु हुँदैन। माछामासु खाएको बेला गेडागुडी तथा दूधदही जस्ता खानेकुरा सँगै खानु हुँदैन।
यसका साथै पाँच घण्टाभन्दा बढी पनि पेट खाली राख्नु हुँदैन।
योग गर्ने उपुक्त समय कुन हो?
सकभर बिहानको समयमा योग गरेको राम्रो हुन्छ। बिहानको समयमा पनि आधा समय सूर्य नउदाउँदै र आधा समय सूर्य उदाएपछिको समय पारेर योग गर्नु एकदमै उपयुक्त समय हो। तर, बिहानको समयमा भ्याइएन भने बेलुकी पनि योगको लागि उपयुक्त समय हो।
यसका अलवा पनि योग गर्न सकिन्छ। तर, टन्न खाना खाएर योग गर्नु उपुक्त हुँदैन। त्यसैले खाना खाएको कम्तीमा २ देखि ३ घण्टापछि मात्रै योग गर्नु उपयुक्त हुन्छ। अब आउँछ योग क-कसले गर्ने नगर्ने।
तर, बुझ्नुपर्ने कुरा के हो भने योगको साधना सबै उमेर समूहका मानिसले गर्न सकिन्छ। तर, १०/१२ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई भने योगको सबै नियम पालना गराउन उपयुक्त हुँदैन।
यस्तै, दीर्घरोगका बिरामीहरुले पनि योग गर्न सक्नुहुन्छ तर दक्ष योग गुरुको सहयोगमा साधना गर्नु राम्रो हुन्छ।
योग गर्दा कस्ता कुरालाई विशेष ध्यान दिने?
आजभोलि धेरैले रोग लागिसकेपछि मात्र योगाभ्यास गर्ने गरेको पाइन्छ। वास्तवमा योग भनेको रोग लाग्नुभन्दा नलाग्दै स्वस्थ अवस्थादेखि नै सुरु गर्नु पर्छ। तर, योग गर्दा ध्यान दिनुपर्ने केही कुरा छन्।
महिलाहरूले महिनावारी भएको बेलामा योग गर्दा विशेष ध्यान दिनुपर्छ। यस्तो बेलामा शरीरलाई झड्का दिने खालका अभ्यास, टाउको तल, खुट्टा माथि गर्नुपर्ने खालका आसन गर्नु हुँदैन।
तनावमा भएको बेलामा पनि योग गर्नु उपयुक्त हुँदैन। तर यस्तो बेलामा ध्यान गर्नु राम्रो हुन्छ। तर, तनावपूर्ण अवस्थामा योग अभ्यास गर्दा मांसपेशी दुख्ने, टाउको दुखाउने, जस्ता समस्याहरू देखापर्न सक्छ।
उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग भएकाहरूले पनि योग गर्दा ध्यान दिनुपर्छ। यस्ता मानिसहरूले धेरै परिश्रम लगाएर गरिने योग, शरीर तात्ने खालका योग अभ्यासहरू गर्नु हुँदैन।
तर महत्वपुर्ण कुरा के हो भने जो कसैले योग गर्दा सुरूमा योग्य योग गुरुको सल्लाह लिनु आवश्यक हुन्छ।
सही तरिकाले नगरिएका योग अभ्यासले फाइदा होइन झन् बेफाइदा पनि गराउन सक्छ। त्यसैले योगको अभ्यासको लागि योग्य योग गुरुको सल्लाह अत्यावश्यक नै हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।