'माया', 'प्रेम', 'स्नेह', 'समर्पण' र 'भक्ति' जसको लागि हरियो चुरा र रातो सारी चाहिन्न।
'माया', 'प्रेम', 'स्नेह', 'समर्पण' र 'भक्ति' जसको लागि हरियो चुरा र रातो सारी चाहिन्न।
उनी आइन्। देखेँ, दाहिने हातभरि रातो र हरियो मिसिएको दुई दर्जन चुरा लगाएकी रहिछन्।
हाँस्दै सोधेँ, 'ओहो, किन यत्तिका चुरा लगाएको नि आज?'
उनले दँग परेर भनिन्, 'आजदेखि साउन लाग्यो नि!'
ए! हो त हगि! साउन लागेछ; अनि बहार आएछ, हरिया र राता रङका लुगाहरु; चुराहरु र 'पोते' लगाउनेका लागि पोतेहरु!
उनी आफ्नो 'पति' उर्फ 'प्रेमी'प्रति भक्तिभाव र समर्पण देखाउन चाहन्छिन्। उसलाई 'मनग्गे आफू' सुम्पिएर खुसी बनाउन चाहन्छिन्। उसको मायाको अथाह सागरमा पौडिन चाहन्छिन्।
मनैमन सोचेँ, के 'प्रेम' त्यसैमा अडेको छ?
अहँ, मलाई त लाग्दैन।
म आफ्ना खाली नारी हेर्छु; रङहीन लुगाहरु हेर्छु र ती दिनहरु सम्झन्छु, जुनदिन म पनि हातभरि चुरा लगाएर हिँड्थेँ। रंगीन कपडाले साथ छाड्दैनथे। म आफैँलाई प्रश्न गर्छु, म ती पहिरनमा खुसी थिएँ या अहिले?
मेरो हृदय त्यतिबेला ''प्रेम' मा डुबेको थियो कि अहिले चुर्लुम्म भएको छ?
जवाफ मसँग पनि छैन।
सायद, १३/१४ वर्षकी थिएँ; कसैसँग 'पप्पि लभ'मा परेको 'भ्रम' थियो। त्यति बेला सोच्थे, प्रेमिकाहरु 'प्रेमी'लाई सम्झिएर कसरी 'आँसु' चुहाउँछ्न्? अनि किन चुहाउँछन्?
त्यतिबेला मनमा आउँथ्यो, सायद, आँसु नचुहाई 'प्रेम गरेको' वा मनमा 'अनुराग' भरेको प्रमाणित हुँदैन क्यारे!
त्यसैले एकदिन जबर्जस्ती आँसु झार्ने कोशिसमा लागेँ। अहँ, आँसुले त टप्कने नामै लिएन।
आज ती दिनहरु सम्झन्छु, मनैमन हाँस्छु। आज 'पप्पि लभ'को अर्थ बुझ्ने भएकी छु।आफू रित्याएर 'मायालु'लाई माया अर्पिन सक्ने भएकी छु।
हुनपनि, मैले जानेकी नै के थिएँ र!
मलाई 'प्रेम' सिकाउने प्रथम गुरु अच्छा राई 'रसिक'को उपन्यास 'लगन' मात्रै थियो। त्यो पढ्दाको उमेर ८/९ वर्ष थियो होला। अहिले त केही सम्झन्न तर 'प्रेम' सिकाएको दृश्य भने आजको दिनसम्म पनि बिर्सन्न। दार्जिलिँगको घुमवस्ती (यस्तै लाग्छ) मा कथाकी पात्रालाई, पात्र युवकले राति घर पुर्याउन गएको हुन्छ। त्यही क्षणले मलाई रोमाञ्चित बनायो र मनमा रोमाञ्च र प्रेमको अंकुर बिजारोपण गरिदियो।
म हुर्केको बेला अहिले जस्तो टेलिभिजन र इन्टरनेटको सन्सार थिएन। न त, घरबाहिर सजिलै जान पाइन्थ्यो। सिक्ने माध्यम एउटै थियो, हिन्दी सिनेमा; त्यो पनि भनेको बेला हेर्न कहाँ पाइन्थ्यो र!
फेरि अर्को गुरु थापेँ, डायमन शम्सेरको 'सेतो बाघ'; त्यसको असर अझै यति धेरै बाँकी छ कि, दोहोर्याएर पढ्दा ती मीठा अनुभूतिहरु, जगतजङ्ग र जेठी शाहज्यादीको 'प्रेम प्रसँग', त्यसको भावप्रति मोहभङ्ग होला भनेर दोहोर्याउने आँट नै गर्दिन। किताब चाँही किनेर राखेकी छु।
'प्रेम' सिकाउने अर्का गुरु त हिन्दी सिनेजगतका प्रख्यात कलाकार अमिताभ वच्चन नै भइहाले। 'कभी कभी' चलचित्रको अभिनयको कारणले हरेकजसो युवा मनमा विराजमान हुन सफल भएका उनलाई 'कुली' सिनेमाको सुटिङमा चोट लाग्दा सन्सार नै डुब्यो जस्तो लागेको थियो।
हुनत, त्यसो नहुनु पर्ने थियो; जीवनका 'पार्टनर'सँगैँ थिए।
तर आज स्वतन्त्र छु; कुनै 'पार्टनर'को दासत्व स्वीकार गर्नुपर्ने कर्तब्यबाट मुक्त छु।
जीवनका 'नवरङ्ग'लाई आफू खुसी आत्मसात गर्न पनि अरुको 'आज्ञा' लिनुपर्ने सकसपूर्ण समयलाई धेरै पछाडि छाडिसकेकी छु। त्यसैले त खुलेर हाँस्न सक्छु। गीत गाउन नजाने पनि गुनगुनाउने रहर गर्छु। कम्मर नमट्कियोस्, संगीतको तालमा शरीरलाई मर्काउन खोज्छु।
हिजोसम्म समयलाई 'बाँच्न' को लागि मात्र उपयोग गर्थेँ भने आज 'जीवन्त' हुनको लागि खर्च गर्छु।
फरको यत्ति हो, 'बाँच्नु' र 'जीवन्त' बन्नुको भेद जान्न धेरै समय खर्चिनु पर्यो।
कसैको मनमा प्रश्न उठ्ला, 'पार्टनर' पनि हृदयमै बस्ने प्राणी होइनन् र?
मेरो जवाफ, हुनपनि सक्छन् र जीवनपर्यन्त खोक्रो नाताभित्र बाहेक नसमेटिन पनि सक्छन्।
यसै प्रसँगलाई स्पष्ट पार्न, भर्खरै पढिसकेको भारतीय लेखिका चित्रा बनर्जीको उपन्यास 'द प्यालेस अफ इलुजन' अगाडी सारेँ।
महाभारतको कथाकी पात्र द्रौपदीलाई मुख्य पात्र बनाएर लेखिएको उक्त उपन्यासमा एउटा प्रसँग आउँछ। स्वर्ग हिँडेका पाण्डव परिवारमध्ये द्रौपदी, सबैभन्दा पहिले बाटोमा रोकिन्छिन्। स्मरणीय छ, कथाअनुसार धर्मात्मा व्यक्ति मात्रै स्वर्ग पुग्न सक्छन्। त्यसैले भीमले युधिष्ठिरलाई सोध्छन्, द्रौपदीले जीवनभर प्रतिव्रता धर्म पालन गरिन्; हाम्रो दू:खसुखमा साथ दिइन्। उनी किन हामीसँगै स्वर्ग जान सक्दिनन्?
युधिष्ठिर जवाफ दिन्छन्, 'उनले हामी पाँचजनासँग विवाह गरिन् तर जीवनभर एउटै व्यक्तिलाई प्रेम गरिरहिन्।'
सुनेर भीम छक्क पर्छन्। उनलाई कहिल्यै पनि द्रौपदीले कम माया गरेजस्तो लाग्दैन; बरु उनले नै द्रौपदी हुँदाहुँदै हिडम्बासँग पुत्रलाभ समेत गरेका थिए। द्रौपदीको 'छद्म प्रेम' पत्ता लगाउने कौतुहलताको जवाफ दिन उद्यत हुन्छन् युधिष्ठिर; तर मुख फोर्दैनन्। किनकि, जीवनको अन्तिम क्षणमा द्रौपदीप्रतिको माया, स्नेह र आदरलाई भीमको आँखाबाट गिराइदिन चाहँदैनन्, युधिष्ठिर; जवाफ दिन्छन्, 'उनले अर्जुनलाई सबैभन्दा बढी माया गरिन्।'
भीम पत्याउँछन्; यो सबै वार्तालाप सुनिरहेकी द्रौपदी युधिष्ठिरले 'कर्ण'को नाम नलिदिएर आफूलाई मान दिएकोमा युधिष्ठिरप्रति कृत्य कृत्य हुन्छिन्। उनी भन्छिन्, मप्रतिको माया र स्नेहको लागि युधिष्ठिरले जीवनमा दोश्रो पटक झुठ बोले। पहिलो पटक, द्रोणलाई युध्दक्षेत्रमा हराउन रचिएको प्रपन्चमा भनेका थिए, 'अस्वोस्थामा हतोहत: नरो वा कुञ्जरो वा..'
महिलाहरुले के चाहन्छन्, प्राय: पुरुषहरुले बुझ्नै सक्तैनन्। नाम,दाम,बल, शक्ति सबै कुरामा एकसेएक थिए द्रौपदीका पाँच पति; तर उनको भित्री मनबाट 'कर्ण' कहिल्यै विलुप्त भएनन्। उनले हर सुख, दु:ख, खुसी, पीडामा 'कर्ण'को साथ खोजिरहिन्। धृतराष्ट्रको सभामा 'कर्ण'बाट अपमानित हुँदा समेत उनको मनबाट 'कर्ण' लोप भएनन्।
हो, त्यही हो 'माया', 'प्रेम', 'स्नेह', 'समर्पण' र 'भक्ति' जसको लागि हरियो चुरा र रातो सारी चाहिन्न।
त्यसैले मलाई राता/हरिया चुरा र उनको नामको सिन्दूर चाहिएन; किनकि, मनको कुनामा वास दिइसकेपछि घरको आँगनमा ठाउँ दिनुपर्ने वा रीतिरिवाज मान्नुपर्ने जरुरत छैन। मलाई त उनको एकजोडी आँखाले नै रोमाञ्चित बनाउँछ। उनको एक बोलीले नै आनन्दित गराउँछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।