|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युगाण्डामा रहेका नेपालीसँग अन्तरक्रिया गरेका छन्। यो क्रममा उनले नेपालीले उठाएका आप्रवासन समस्या चाँडै हल गर्ने आश्वासन दिए।

‘युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईँहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुशी लागेको छ। यहाँ तपाईँहरूले केही कुरा उठाउनुभयो’, उनले भने, ‘ती महत्वपूर्ण छन्। हिजो मात्रै भिजिट भिसाका बारेमा केही महत्त्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतसँग छलफल गरिएको छ।’

परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले युगाण्डामा रहेका नेपालीले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको बताए। उनले नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको बिम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न आग्रह गरे। गैरआवासीय नेपाली संघ युगाण्डाकी अध्यक्ष रमा अर्यालले  देशका प्रधानमन्त्रीलगायतका नेतासँग भेट्न पाउँदा अत्यन्तै खुशी भएको धारणा राखिन्।

कार्यक्रममा गैरआवासीय संघका संरक्षक रमेश कँडेलले युगाण्डामा ३५० भन्दा बढी नेपाली रहेको जानकारी दिए। उनले तीन दशकयता वर्षदेखि नेपालीले युगाण्डाको विकास निर्माण र व्यापार–व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताए।

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री बिहीबार युगाण्डा पगेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.