|

काठमाडौं : पछिल्ला वर्षहरूमा नेपालमा जनावरले टोकेर देखिने स्वास्थ्य समस्या (जुनोटिक रोग) पनि जनस्वास्थ्यको एक चुनौतीकै रूपमा देखिन थालेको छ।

विशेषगरी कुकुर, स्याल तथा सर्प जस्ता जनावरको टोकाइले गर्दा मानिसको स्वास्थ्य नै जोखिममा परेको  देखिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार गत आर्थिक वर्षमा मात्रै देशभर १२,८५१२ जनालाई कुकुर, स्याल लगायतका जनावरले टोकेर बिरामी भएको पाइएको छ।

जसमा सुदूरपश्चिम प्रदेशमा १३,६२८, कर्णाली प्रदेशमा ६०१०, लुम्बिनी प्रदेशमा ३७,८६१,मदेश प्रदेशमा २१,९८२,गण्डकी प्रदेशमा ११०९४,बागमती प्रदेशमा १९१९२ जना र कोशी प्रदेशमा १८७४५ जना जनावरको टोकाइबाट पीडित भएका थिए।

यसरी कुकुर लगायतका जनावरले टोकेमा समयमानै रेबिजविरुद्धको खोप नलाइए मानिसको मृत्युसमेत हुने गरेको छ। मन्त्रालय अन्तर्गतकै स्वास्थ्य सेवा विभाग  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वार्षिक सयजनाको रेबिजको कारण मृत्यु हुने गरेको छ।

मन्त्रालयको गत तीन वर्षको विवरण हेर्ने हो भने पछिल्ला वर्षहरूमा जनावरको टोकाइबाट पीडित हुने बिरामी बढ्दै गएका छन्। आब ७८/७९ मा ९४,८२९ जना मा जनावरले टोकेर जुनोटिक समस्या देखिएको थियो भने आब ७७/७८ मा ६७,३१६ जनामा यो समस्या देखिएको थियो।

सर्पदंशका बिरामीको संख्या बढ्दै

यस्तै, पछिल्ला वर्षहरूमा नेपालमा सर्पदंशका बिरामीको संख्या बढ्दै गएको मन्त्रालयको विवरणले देखाएको छ। आर्थिक बर्ष ७७/७८ मा देशभर ७९०२ जना सर्पदंशका बिरामी भेटिँदा आब ७८/७९ मा ९३४६ जना भेटिएका थिए भने आव ७९/८० मा आइपुग्दा ९१२० जना शर्पदंशका बिरामी भेटिएका थिए।

विवरण हेर्दा कोशी प्रदेशमा सबैभन्दा धेरै सर्पदंशका बिरामी भेटिएका छन् जसमा कोशी प्रदेशमा २६१२ जना रहेका छन्। यस्तै, मधेश प्रदेशमा १४६०,बाग्मती प्रदेशमा ९८८,गण्डकी प्रदेशमा ११९१, लुम्बिनी प्रदेशमा २५१९ ,कर्णाली प्रदेशमा २०८ जना र सुदुरपश्चिम प्रदेशमा १४२ जना गएको आर्थिक वर्षमा सर्पको टोकाइबाट बिरामी भएका थिए। यसबाट कति बिरामीको मृत्यु भयो भन्ने विवरण भने मन्त्रालयले सार्वजनिक गरेको छैन।

किन बढ्दै छ नेपालमा जुनोटिक समस्या

सामान्य सावधानी अपनाएर जनावर तथा सर्पको टोकाइबाट हुने जटिलताबाट बच्न सकिने भए पनि मानिसहरूको हेलचेक्रयाइँ गर्दा जुनोटिक समस्या जनस्वास्थ्यको चुनौतीको रूपमा खडा हुँदै टेकुस्थित शुक्राराज ट्रपिक तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषक्ष डा शेर बहादुर पुनको भनाइ छ।

डा पुनले भने, ‘पहिला त केही वर्ष अगाडिको भन्दा अहिले काठमाडौंलगायत धेरै ठाउँमा मानिसको जनघनत्व बढ्दै गएको छ भने हाम्रोमा पहिलाको भन्दा छाडा कुकुर तथा अन्य जनावरको संख्या पनि बढ्दै गएको छ यसले गर्दा जुनोटिक समस्या ठूलै चुनौतीको रूपमा बढ्दै गएको हो।'

उनले थपे, 'तर बुझ्नुपर्ने कुरा के छ भने सामान्य सावधानीले पनि यस्ता समस्याहरुसँग बच्न सकिन्छ तर मानिसहरुले हेलचेक्रयाइँ गरेको पाइन्छ जसले गर्दा सामान्य अवस्थामा पनि मानिसले ज्यान गुमाइरहेका हुन्छन्।'

यस्तै, तापक्रम बढ्दै जाँदा सर्पलगायत विषालु  जनावरहरूको संख्या बढ्दै जाँदा पनि यस्तो समस्या बढ्दै गएको डा पुनले बताए।

केही वर्ष अघिसम्म हिउँदमा भन्दा गर्मी मौसममा कुकुरले टोकेर रेबिज विरुद्धको खोप  लगाउन आउने बिरामी संख्या धेरै हुने भए पनि पछिल्ला वर्षहरूमा हिउँदको समयमा पनि यो संख्या गर्मी मौसमको जस्तै रहेको समेत टेकु अस्पतालले जनाएको छ।

टेकु अस्पतालका ओपिडी इन्चाज शंकर पाण्डेले भने, ‘अहिले पनि हाम्रोमा दैनिक ४ देखि ५ सयसम्म कुकुर तथा अन्य जनावरले टोकेर रेबिज विरुद्धको खोप लगाउन आउनु हुन्छ चिसो भएर होला सर्पदंशका बिरामी चाही कम हुनुहुन्छ।'

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा कुकुर, बाँदर, स्याल लगायतका जनावरको टोकाइको कारण रेबिज भई करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ। एक करोड मानिसलाई रेबिजको उपचार आवश्यक पर्ने गरेको छ।

स्वास्थ्य मन्त्रालयले २०७८ साल मंसिरदेखि रेबिजविरुद्ध दिइने एन्टीबडी सेवा सातै प्रदेशमा विस्तार गरिसकेको छ। कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पतालबाट रेबिजविरुद्धको इम्युनोग्लोबुलिन पाइने गर्छ।

त्यसैगरी, बागमतीमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भरतपुर अस्पताल, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा लुम्बिनी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालबाट रेबिज विरुद्धको इम्युनोग्लोबुलिन निःशुल्क दिइने गरेको छ।

काठमाडौँ उपत्यकाबाहिर ९ वटा स्वास्थ्य संस्थामार्फत रेबिजविरुद्धको इम्युनोग्लोबुलिन एन्टीबडी नि:शुल्क लिन सकिन्छ। काठमाडौंमा भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र निःशुल्क प्रदान हुँदै आएको छ।

यदि कुकुर तथा घरपालुवा जनावरले टोकेर समान्य घाउ बनाए पनि समयमै रेविज विरुद्धको खोप लगाउन सके स्वास्थ्य जोखिम नहुने डा पुनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.