‘विश्वविद्यालयमा छिट्टै ‘ब्रेक थ्रु’ गरेरै छाड्छु’

|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति लगायत नियुक्तिमा राजनीतिक भागबण्डाबाट नभई मेरिटको आधारमा नियुक्ति गर्ने बताउँदै आएका छन्।

‘आज म यस अवसरमा त्रिविबाटै राजनीतिक भागबण्डाको अन्त्य गर्ने, मेरिटका आधारमा उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईंहरूका अगाडि व्यक्त गर्छु। यसका निम्ति खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीहरूलाई विशेष आह्वान पनि गर्छु। राजनीतिक दलहरूलाई त्रिविमा भागबण्डा होइन मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन अपिल गर्छु’, त्रिविको ४९ औँ दीक्षान्त समारोहमा बोलेको यो उनको भनाइ हो।

यसै आधारमा त्रिवि उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० बन्यो। जसमा त्रिविको उपकुलपतिको लागि आवेदन दिँदा कुनै पनि राजनीतिक दलको् सदस्यता नभएको हुनुपर्ने, मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, प्रचलित कानुनबमोजिम स्थापित विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई सो पदको अनुभव हासिल गरेको हुनुपर्ने मापदण्ड छ।

यसैगरी प्रचलित कानुनबमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नरहेको, त्रिभुवन विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको र नेपाली नागरिक भएको हुनुपर्ने कार्यविधिमा योग्यता तोकिएको छ। यी योग्यता नपुगेकाले आवेदन दिएमा उक्त स्वीकृत आवेदन रद्द गर्ने कार्यविधिमा उल्लेख छ। 

,त्रिविको उपकुलपतिका लागि आवेदन परेकाहरूमध्ये अधिकांश आवेदक विभिन्न विवादमा मुछिएका छन्। त्रिविको उपकुलपतिमा ४३ जनाको दरखास्त परेको छ। जसमा त्रिविका बहालवाला कार्यवाहक उपकुलपति प्रा.डा. शिवलाल भुसालले समेत त्रिविको उपकुलपतिका लागि आवेदन हालेका छन्।

उपकुलपतिमा मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्राडा नन्दबहादुर सिंहले पनि दरखास्त दिएका छन्। २०७६ मा उपकुलपति नियुक्त सिंहको कार्यकाल फागुन १८ गते सकिँदै छ। उनको पनि दरखास्त परेको  उपकुलपति सिफारिस समितिका सदस्य तथा शिक्षा सचिव सुरेश अधिकारीले जानकारी दिए। 

त्यस्तै दरखास्त दिनेमा त्रिविकै पूर्व उपकुलपति तीर्थ खनियाँ, राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष चन्द्रमणि पौडेल, खुला विश्वविद्यालयका पूर्व उपकुलपति लेखनाथ शर्मा पनि छन्। त्यसैगरी टंक धमला, महानन्द चालिसे, भोजराज अर्याल, प्रकाश घिमिरे‚ केदार घिमिरे‚ कृष्णराज तिवारी छन्। 

यस्तै पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केशरजंग बराल, पूर्वरेक्टर गुणनिधि न्यौपाने, गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा. नवराज देवकोटाले आवेदन दिएका छन्।

त्रिवि मानविकी संकायकी डिन कुसुम शाक्य, शिक्षा संकायका डिन चित्रबहादुर बुढाथोकी, त्रिवि कार्यकारी परिषद्का सदस्य महानन्द चालिसे, ताहाचल क्याम्पसका प्राध्यापक भीमसेन देवकोटा, त्रिरत्न बज्राचार्य, संगीता रायमाझी, गोविन्द सुवेदी, प्रकाश घिमिरे, प्रा.डा. केदारनाथ घिमिरे, पूर्व डिनहरू कृष्णराज तिवारी, इन्द्रबहादुर कार्की, राजकुमार पोखरेल, बालमुकुन्द रेग्मी, एकराज ओझा, देवबहादुर खड्का, अक्कलदेव मिश्र, प्रमोदकुमार झालगायतले आवेदन दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

सूचना लुकाएको आरोपमा भुसाललाई ५ हजार जरिवाना

सरकारले विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएसँगै कार्यवाहक उपकुलपतिमा भुसाललाई दिएको छ।

हालसम्म उनकै भरमा त्रिवि सञ्चालनमा छ। उनले पनि उपकुलपतिमा आवेदन दिएका छन् तर उनी यसअघि विवादमा मुछिइसकेका छन्। शिक्षाध्यक्षमा रहेका वेला २०७७ मा सूचना लुकाएको आरोपमा  उनलाई जरिवाना समेत तिराइएको थियो।

राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी ऐनअनुसार सूचना लुकाएको अभियोग पुष्टि भएको भन्दै त्रिविका शिक्षाध्यक्ष भुसाललाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको थियो।

आयोगको आदेश पालना नगरी मातहतको कार्यालयमाथि जिम्मेवारी पन्छाउन खोजेको, आयोगको आदेश, पत्राचारको बेवास्ता गरी विषयान्तर गर्दै पन्छिन खोजेको आयोगको ठहर छ। आयोगले त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्नातकोत्तर तह भौतिकशास्त्र प्रथम सेमेस्टरको ‘क्वान्टम मेकानिक्स’ विषयको उत्तरपुस्तिका नष्ट गरेका कारण जरिवाना गरेको थियो।

बौद्धिक चोरी आरोपमा खनिया

त्रिविको उपकुलपतिमा आवेदन दिएका अर्का हुन् त्रिविकै पूर्व उपकुलपति तीर्थराज खनिया। उनलाई बौद्धिक चोरीको आरोप छ। उनी २०७२ मा त्रिविको उपकुलपतिका लागि सिफारिसमा पर्दा पनि यो विवाद सतहमा आएको थियो।

उनले सन् २००४ मा इन्टरनेट टीएइसएल जर्नलमा लेख लेखेका थिए। ‘इएफएल कक्षा कोठामा प्रामाणिक सामग्रीको प्रयोग’ शीर्षकमा लेखेको लेखको अन्तिम भागमा फेरिट किलिक्कियाको लेखबाट हुबहु कपी पेस्ट गरेको पाइएको थियो। सन्दर्भ सामग्रीको उल्लेख नगरीकन आफ्नो लेख तयार पारेपछि त्यसवेला उनीमाथि बौद्धिक चोरीबारे दि हिमालयन टाइम्समै समाचार छापिएको थियो।

त्यसपछि उनी उपकुलपति हुँदा नै अर्काको हुबहु सार्ने र बौद्धिक चोरी गर्ने व्यक्तिले त्रिविको जिम्मेवारी लिएर देशमा कस्तो बौद्धिक जनशक्ति उत्पादन गर्ला त भन्ने प्रश्न खडा भयो। यस्तै,उनी २०७४ को स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा उनी परेपछि अन्तर्घात गरेको उजुरी पनि परेको थियो।

प्रश्नपत्र ‘आउट’ र बौद्धिक चोरीमा केदारनाथ 

यस्तै प्रश्नपत्र आउट र बौद्धिक चोरीको आरोप लागेका अर्का हुन् प्राडा केदारनाथ घिमिरे। उनले पनि उपकुलपतिका लागि आवेदन दिएका छन्। विश्वविद्यालय अनुदान आयोगले २०७० मंसिरमा प्राडा घिमिरेसहित ६ जना प्राध्यापकलाई बौद्धिक सम्पत्ति अनधिकृत प्रयोग गरेको तथा शैक्षिक मर्यादा उल्लंघन गरी पेशागत मर्यादा पालना नगरेको ठहर गर्दै कालोसूचीमा राखेको थियो। पछि २०७९ मा सरकारले आरोप लागेका उनै घिमिरेलाई त्रिवि सेवा आयोगको अध्यक्ष बनाउने तयारी भएपछि विवाद उत्पन्न भएको थियो। 

उपप्राध्यापक पदको २०७५ सालमा लिइएको लिखित परीक्षामा त्रिवि सेवा आयोगका तत्कालीन अध्यक्ष ईश्वरकुमार दत्त र सदस्य केदारनाथ घिमिरेले सक्षमलाई फेल गराई अक्षमलाई सेटिङ गरी प्रश्नपत्र पहिल्यै आउट गरी पास गराएको भन्दै प्रधानमन्त्री कार्यालय,अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमै उजुरी परेको थियो।

गैरजिम्मेवारीपन देखाएको भन्दै सिंहको राजीनामा माग 

त्रिविको उपकुलपतिमा आवेदन दिएका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहमाथि भाडाका मान्छे प्रयोग गरेर प्रशासनले गैरजिम्मेवारीपन देखाएको आरोप छ।

प्रधानमन्त्री शेरबहादुर देउवा रहेका वेला देउवालाई संसदीय भाषामा कुलपति मानौँला तर मेरो वास्तविक कुलपति त केपी ओली नै हुन् भन्ने अडियो रेकर्डसमेत बाहिरिएपछि २०७८ मै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले गुण्डागर्दी शैलीमा उत्रिएको, पदीय मर्यादा कायम राख्न नसकेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेका थिए।

समितिले योग्य नै उपकुलपति छनोट गर्ला : माथेमा

शिक्षाविद् एवं त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा उपकुलपति छनोट समितिले योग्य नै उपकुलपति छनोट गर्ने आशा राख्छन्। उनी भन्छन्, ‘मैले लिष्ट हेरेको छैन, कतिपय धेरै अनुभवीले उपकुलपतिका लागि आवेदन दिएको सुनेको छु।’

विवादमा मुछिएका आवेदकहरूकाे विषयमा भने यसबारे छनोट समितिले नै सत्य तथ्य खोजी गरेर उपकुलपतिमा छनोट गर्नुपर्ने बताए। ‘अब कोही त्यस्ता विवादित छन् भने छनोट समितिले यसबारे हेर्छ होला, के सत्य के गलत छुट्याएर छनोट गर्ला नि’, उनले भने।

‘विश्वविद्यालयमा छिट्टै ‘ब्रेक थ्रु’ गरेरै छाड्छु’ 

प्रधानमन्त्री प्रचण्डले भने विश्वविद्यालयमा छिट्टै ‘ब्रेक थ्रु’ गरेरै छाड्ने बताएका छन्। आज (बुधबार) शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका विज्ञसँग भएको छलफलमा विश्वविद्यालयलाई अन्तरराष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रूपमा विकास गर्न आफू लागिपरेको बताएका छन्।

उनले भने, ‘देश बनाउन सबभन्दा ‘बेष्ट ब्रेन’ केन्द्रित हुनुपर्छ, विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बनाउनु हुँदैन भनेर विगतको परम्परामा ‘ब्रेक थ्रु’ गर्न लागिएको छ। यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरिएको छ।’ 

(याे पनि)


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.