|

पर्वत : आहा रारा पोखरा गोल्ड कपको २३ औँ संस्करणको पहिलो क्वार्टर फाइनल खेलअन्तर्गत शनिवार आमन्त्रित टोली भुटानको पारो फुटबल क्लब र नेपालको थ्री स्टार क्लब भिड्दै छन्।

पोखरा रङ्गशालामा दिउँसो साढे दुई बजे हुने यी दुई टोलीबिच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबका अध्यक्ष  केशवराज बरालले बताए।

कुल १२ ‘टिम’ को सहभागिता रहेको यस संस्करणको पहिलो दिन गत माघ नौ गते आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै थ्री स्टारले पारो फुटबल क्लबसँग भेट पक्का गरेको थियो।

पोखरा रङ्गशालामा भएको उद्घाटन खेलमा थ्री स्टारले सहारालाई २–१ ले पराजित गर्दै यात्रा अगाडि बढाएको थियो। थ्री स्टार क्लब आहा१ रारा पोखरा गोल्ड कपको उपाधि दाबी गर्ने बलियो टिम हो। २०६३, २०६७, २०६९, २०७१, र २०७५ सालमा भएका संस्करणमा उपाधि विजेता बनेको यो टिमले २०७४ को संस्करणमा उपबिजेतामा चित्त  बुझाएको थियो।

पारो फुटबल क्लब पनि भुटानको बलियो टिम हो। भुटानमा आयोजना हुने भुटान प्रिमियर लिगमा सन २०१९, २०२१, २०२२ र २०२३ मा विजेता बनेको यो फुटबल क्लब सन २०१९ मा जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्ड कपमा पनि विजेता बनेको थियो।

गोल्ड कपमा शुक्रबार भएको खेलमा दुई विभागीय टोलीहरू सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लब भिडेका थिए।

जसमा एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस क्वार्टर फाइनलमा पुगेको छ। पुलिसले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।

यो प्रतियोगिता माघ २० गतेसम्म सञ्चालन हुने छ। ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने नाराका साथ यो संस्करणको आयोजना गरिएको छ।

प्रतियोगिताको विजेताले१२ लाख एक हजार रुपैयाँ र दोस्रो हुने टोलीले छ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। सहभागी टोलीले हरेक खेलमा प्रोत्साहन रकम पाउने सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताए। प्रि– क्वाटर खेल्ने दुवै टोलीले २० हजार, क्वाटर फाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसरी सबै पुरस्कारका लागि २८ लाख ३२ हजार पाँच सय ५५ रुपैयाँ खर्च हुनेछ।

आयोजक सहाराले प्रि–क्वाटर र क्वाटर फाइनलका खेलहरूको साधारणतर्फ एक सय रुपैयाँ र भिआइपीतर्फ दुई सय रुपैयाँ, सेमिफाइनलमा साधारणतर्फ दुई सय र भिआइपीतर्फ चार सय रुपैयाँ तथा फाइनलमा साधारण तर्फ तीन सय रुपैयाँ र भिआइपीतर्फ पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरेको छ।

आहा१ रारा पोखरा गोल्ड कपको २२ औँ संस्करणको उपाधि सङ्कटा क्लबले जितेको थियो। आमन्त्रित भुटनिज स्पोर्टस् क्लब, मिन्नेसोटा अमेरिकाले उपबिजेतामा चित्त बुझाएको थियो। पोखरा रङ्गशालामै भएको गत संस्करणमा १० ‘टिम’ ले भाग लिएका थिए। 

विगत २३ वर्षदेखि निरन्तर सञ्चालन भएको यस प्रतियोगिताबाट बचत हुन आएको रकम क्लबबाट सञ्चालित सूर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्ने गरिएको छ।

सहारा क्लबले २०६१ सालदेखि आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षा दीक्षा लगायत फुटबल प्रशिक्षण सहित सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आइरहेको छ। पोखरा महानगरपालिका–१७, दोविल्लामा रहेको सहारा एकेडेमीमा अहिले चौथो ब्याचमा आठ जिल्लाका १४ जना बालकहरू आश्रित छन्।

विपन्न तथा कठिन परिस्थितिका बालकलाई आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षादीक्षालगायत फुटबल प्रशिक्षण गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.