|

काठमाडौं : यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार कवि बिमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।

अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्बाङको पाँचौं स्मृति दिवसमा तुम्खेवा र बाँस्कोटालाई संयुक्तरुपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।​ 

प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङका अनुसार प्रतिष्ठानले तुम्खेवा र बाँस्कोटालाई साहित्य सम्मानसहित एकजना जेहेन्दार विद्यार्थीलाई छात्रवृति र आगलागी तथा पहिरोपीडितलाई राहत वितरण गर्न लागेको हो।​ 

तुम्खेवा र बाँस्कोटा दुवै पत्रकारसमेत हुन्। तुम्खेवा हाल सञ्चारिका नेपालको अध्यक्ष छिन् भने बाँस्कोटा पाँचथर पत्रकार महासंघका अध्यक्ष हुन्। बाँस्कोटाको नियात्रा ‘कञ्चनजंघाको काखबाट’ र कविता कृति ‘ढुंगाको प्रेम’ प्रकाशित छन्।​

गतवर्ष यही पुरस्कारबाट साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत भएका थिए। २०७८ मा शारदा सुब्बा र बिना थिङ, २०७७ मा डा।गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७६ मा डा।देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई यो पुरस्कार प्रदान गरिएको थियो।

पुरस्कार तथा छात्रवृत्ति यही माघ २६ गते फिदिममा कार्यक्रम गरी वितरण गरिने अध्यक्ष नेम्बाङले बताए। प्रतिष्ठानले ज्योति सेकेण्डरी स्कुल, फाल्गुनन्द(७ मा १० कक्षामा अध्ययनरत विद्यार्थी प्रेमा लावतीलाई छात्रवृत्तितर्फ छनोट गरिएको जनाएको छ।

स्वर्गीय अमर नेम्बाङ नेपाली साहित्यका एक विशिष्ट स्रष्टा हुन्। उनी पर्यावरणीय लेखनका अभियन्ता थिए। उनको संस्मरणात्मक निबन्धहरूको सँगालो ‘सम्झनाका तरेलीहरू’लाई यस लेखनको उत्कृष्ट प्रयोगका रुपमा लिइन्छ। उनको सम्झनाको तरेलीसँगै ‘अमेरिका भ्रमणका केही सम्झनाहरू’ (संस्मरण) र ‘एउटा साँझको अवसान’ कविता कृति प्रकाशित छन्।

उनका दर्जनौँ लेख, संस्मरण, निबन्ध र कविता अप्रकाशित अवस्थामा छन्। नेम्बाङले पाश्चात्य साहित्यको गहिरो अध्ययन गरेका थिए। नेम्बाङको जन्म वि।सं।१९९८ साल श्रावण २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा बाबु नयेन्द्रराज (नरवीर) नेम्बाङ र आमा श्रीहाङ्मा (थाम्सुहाङ) नेम्बाङको कोखबाट माइला छोराको रूपमा भएको थियो।

आफ्नै गाउँको सारताप स्कुलबाट अध्ययन सुरु गरेका नेम्बाङले सन्त रोबर्टस उच्चमावि दार्जिलिङबाट १९६१ मा हाइस्कुल पास गरेका थिए र सन्त जोसेफ कलेज नर्थप्वाइन्ट दार्जिलिङबाट १९६६ मा बिए सकेका थिए। १९६९ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका नेम्बाङ पाँचथरमा लिम्बू समुदायबाट स्नातकोत्तर गर्ने पहिलो व्यक्ति हुन्।

२०३३ सालमा जनपक्षीय उम्मेदवार भएर चिलिङदेन गाउँको नेतृत्व सम्हालेका नेम्बाङ पटकपटक तत्कालीन पौवासारतापमा नेकाको तर्फबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

नेम्बाङले स्थानीय तहबाट देशभरमा पहिलो पटक मातृभाषा शिक्षा पठनपाठनलाई आधारभूत तथा माध्यमिक विद्यालयमा सञ्चालन गरेका थिए। गाउपालिकाको वडा नं ५ ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा २०७५ साल माघ २६ गते नेम्बाङको निधन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.