|

बागलुङ : निसीखोला गाउँपालिका–९ की ममता घर्ती मगरको घर नजिकै खोला छ। खोला पारि गोठ र बारी छन्।

दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ। तीन वर्षअगाडि खोलामा पुल थिएन। काठको साँघुको भरमा घरगोठ गर्थिन्। बर्खामा निसीखोला उर्लेर आउँदा समस्या हुन्थ्यो। तर अहिले निसीखोलामाथि झोलुङ्गे पुल निर्माण भएपछि वारपार गर्न सहज भएको छ। 

पुल निर्माण भएपछि वारपारका लागि मात्रै नभएर स्थानीयवासीको  दैनन्दिन सहज बनेको छ। अधिकांश समय बारी र गोठामा बिताउने उनी दिनमा १०/१२ पटक खोला वारपार गर्छिन्।

पुल नबन्दा खोलामा खसेर छिमेकीले ज्यान गुमाएको पीडा उहाँमा अझै छ। तर झोलुङ्गे पुल निर्माण भएपछि यहाँका स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन। खोला तर्दा बगाउँछ कि भन्ने पीरले पनि सताउन छोडेको छ। पुल बनेपछि मान्छेसँग पशुचौपायालाई समेत वारपार गर्न सहज भएको उनी बताउँछिन्। ‘हिउँदको बेलामा खोला सानो हुन्थ्यो र वारपार गर्न सकिन्थ्यो, बर्खामा बाढी आउँदा खोला तर्न सकिँदैनथ्यो’, विगतको सम्झना गर्दै उनी भन्छिन्, ‘काठको साँघु हालेर खोला तर्ने गर्थ्यौँ। साँघु तर्दा पनि धेरै खोलामा खसेर मरे।’

२०७६ सालपछि निसीखोलामा झन्डै दुई दर्जन झोलुङ्गे पसल निर्माण भएका छन्। जसले यहाँका हजारौँ स्थानीयको दैनिन्दिनसहज बनाइदिएको छ। गाउँपालिकाको ठाउँठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन्। गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल निर्माण गरिरहेको छ। निसीखोला गाउँपालिका–४ बडाचौरदेखि झिवाखोला बजार पुग्न जोगिथुम्कादेखि पाँच मिनेट लाग्थ्यो।तर पुल नहुँदा स्थानीयबासी झण्डै आधा घण्टा लगाएर अर्को पुल प्रयोग गर्न बाध्य थिए।

अहिले जोगिथुम्पाका–बोहोरागाउँ स्वास्थ्य चौकी जोड्ने झोलुङ्गे पुल बनेपछि एकै छिनमा बजार पुगिन्छ। पुल नबन्दा गाउँबाट बजार झर्दा नागरिकले जोखिम मोलेर खोला नै तर्ने गरेको भन्दै अहिले पुल तर्न पाउँदा दङ्ग परेको स्थानीय तीर्थबहादुर क्षेत्रीले बताए। पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती खेप्दै आएका स्मरण गर्दै अहिले हिउँद बर्खा बाह्रै महिना वारपारमा सहज भएको उनी बताउँछन्।

‘लामो समयदेखि खोला तरेर बजार पुग्नु परेको थियो। समय–समयमा खोला तर्दा केही ज्यान पनि गुमाए तर यहाँ पुल बनेपछि यस क्षेत्रका खोलाले बगाएर कसैको मृत्यु भएको छैन’, उनले भने, ‘युवा जसोतसो खोला पार गरे पनि साना बालबालिका र बूढाबूढीलाई समस्या हुने गरेको थियो, धेरै समय लाग्थ्यो, तर अहिले समय छोटो समयमै बजार पुगिन्छ, कसैले पनि खोला तर्नु परेको छैन, पहिले धेरै ठाउँमा काठको फड्के हालेर मान्छे खोला वारपार गर्थे, अहिले धेरै ठाउँमा पुल बनेका छन्।’

चार वर्षको अवधिमा निसीखोलामा मात्रै १८ वटा झोलुङ्गे पुल बनेका छन्। आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म वडा नं १ मा लेवाङ्खोलाघाट, आङटारीघाट, माडाखोलाघाट, खनिबासघाट र आठबोरघाटमा झोलुङ्गे पुल निर्माण भएका छन्। वडा नं. २ मा खोर्घाघाट, धौलाघाट र खग्रेनीघाटमा पुल निर्माण भएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए।

उनका अनुसार वडा नं. ५ मा चुसिबाङघाट, सरिटाघाट, सेराबाङघाट र मगराखोलाघाटमा झोलुङ्गे पुल निर्माण भएका छन्। वडा नं ३ मा गहतेराखोलाघाट र ढुवाखोरघाट, वडा नं ४ मा कारीखोलाघाट, वडा नं ७ कुतखोलाघाट, सेलाखेतघाट र वडा नं ५ मा यारीखोलामा झोलुङ्गे पुल निर्माण गरेको गौतमको भनाइ छ। सङ्घीय सरकारको ८७ र गाउँपालिकाको १३ प्रतिशत लगानीमा १८ पुल निर्माण भएको उनले बताए। 

पुल निर्माणका लागि करिब आठ करोड १० लाख खर्च भएको उनले जानकारी दिए। आर्थिक वर्ष २०७९÷८० देखि हालसम्म निर्माण भएका सातवटा झोलुङ्गे पुलको रु एक करोड ७६ लाख भुक्तानी दिन बाँकी रहेको गौतमले बताउनुभयो। संघीय सरकारबाट आउने बजेट समयमै नआउँदा भुक्तानी गर्न नसकेको उनको भनाइ छ। 

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगर मुलु संघीय संरचनामा गई स्थानीय सरकार बनेपछि छोटो समयमै धेरै पुल निर्माण भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.