|

काठमाडौँ : नेपाल शिक्षक महासंघ, नेपाल विद्यालय कर्मचारी परिषद्लगायत शिक्षासँग सरोकार राख्ने शिक्षक र कर्मचारीहरूले विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० चालु अधिवेशनबाटै पारित गर्न माग गरेका छन्।

सरकारले शिक्षा विधेयक पारित गर्न आलटाल गरे पहिला जस्तै पुन: शिक्षक आन्दोलनमा उत्रिनेसमेत उनीहरूको चेतावनी छ।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले यही हिउँदे अधिवेशनबाटै शिक्षा र शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने बताए। माघ २२ गतेदेखि सङ्घीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन शुरु भएको छ।

उनले सामाजिक सञ्जालबाट भनेका छन्, ‘संसदको हिउँदे अधिवेशन शुरु भएको छ, विधेयक अधिवेशनको रुपमा लिइने यस अधिवेशनबाट शिक्षा र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्छ भन्ने सबै नेपाली  शिक्षक–कर्मचारीको माग छ, आशा गरौं– २०८० असोजमा माइतीघर मण्डलामा भएको आन्दोलन राज्यको स्मृतिमा  पक्कै होला, अन्यथा नेपाली शिक्षक–कर्मचारी त्यसको भाग २ लिएर अवश्य आउने छन्।’ 

यस्तै, नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारीले पनि यही अधिवेशनबाटै विधेयक पारित गर्नुपर्ने माग राखे।

‘२२ गते देखि सदन शुरु भएको सबैमा सर्वविदितै छ, यो हिउँदे अधिवेशनमा नआएको ऐन फेरि धेरै समयका लागि पछाडि जाने पक्का पक्की नै छ, त्यसैले यो ऐन आउनुपर्छ,’ उनले भने।

उनीहरूले हिजो (मंगलवार) उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीलाई छुट्टाछुट्टै भेटेर ध्यानाकर्षण पनि गराएका थिए।

महासंघका महासचिव सुवेदीका अनुसार उक्त भेटमा शिक्षक-कर्मचारीका पक्षमा दर्ता भएका संशोधन समेटी छिटोभन्दा छिटो विद्यालय शिक्षा ऐन सुझावसहित संसदमा पठाउन पक्षीकरण गरियाे। 

गृहमन्त्री र समितिका सभापति जोशीले चालु अधिवेशनबाटै शिक्षा विधेयक पारित गराउनेमा पहल गर्ने प्रतिबद्धता जनाएको महासंघका महासचिव सुवेदीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.