|

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रूपमा लिएको टिप्पणी गरेका छन्। 

हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले व्यवसायी प्रसाईंका पछिल्ला गतिविधिलाई आफूहरूले सकारात्मक रूपमा लिएको उनको भनाइ थियो। शनिवार जनकपुरका सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष थापाले आफ्नो पार्टीले संविधान र संसद्को मातहतमा रहने राजसंस्थाको परिकल्पना गरेको पनि स्पष्ट पारे।

उनले गणतन्त्रवादीहरूलाई पनि चित्त बुझ्ने खालको राजतन्त्र मुलुकमा हुनुपर्छ भन्ने मान्यतामा आफूहरू रहेको जिकिर गरे। अध्यक्ष थापाले राजसंस्था मुलुकमा कार्यकारी हुनुपर्छ भन्ने पक्षमा आफूहरू नरहेको बताए।

थापाले भने, ‘हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउनु भएको छ। त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं। संविधान र संसद्को नियन्त्रणमा रहने राजसंस्थाको हामीले परिकल्पना गरेका हौं। हामीले परिकल्पना गरेको प्रजातान्त्रिक व्यवस्थामा राजादेखि माओवादी सबै अटाउन सक्छ। राजादेखि माओवादी सबै अटाउने मौलिक प्रजातन्त्रको कुरा हामीले गरेको हुनाले यो निरंकुश वा कार्यकारी हुने भन्ने त प्रश्नै आउँदैन।’

अध्यक्ष थापाले आफूहरूले राजादेखि माओवादीसम्म सबै अटाउने मौलिक खालको प्रजातान्त्रिक व्यवस्था कुरा गरेको पनि दोहोर्‍याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.