|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले दबाबका कारण हतारमा अनलाइन सेवा थाल्दा वेबसाइट ह्याकको समस्या निम्तिएको जनाएको छ। पनिकाको आइटी विभागले हतारमा अनलाइन सेवा छिटो थाल्नुपर्ने दबाब आउँदा सुरक्षित ढंगले सेवा सुरु गर्न नपाइएको बताएको हो।

आइटी विभाग प्रमुख दीपकबहादुर शाहीका अनुसार आगामी नयाँ वर्षदेखि व्यवस्थित ढंगले अनलाइनबाट सेवा दिने योजना थियो। ‘तर,छिटो अनलाइन थाल्नुपर्ने भनेर दबाब आयो, अझै पनि ती मागका ब्यानरहरू देख्नु भएकै होला गेटमा, आन्दोलन गरेको गरेकै गर्छन्, त्यसैले यस्तो समस्या निम्तियो, हामीले त सुविधा दिन खोजकै हौँ तर ह्याक भयो,’ उनले भने।

अनलाइनबाट सेवा दिनको लागि त्रिविले छुट्टै ठूलो प्रोजेक्ट ल्याएको र वैशाखबाट सेवा दिने याेजना बनाएकाे उनले बताए। ‘त्यो प्रोजेक्टअनुसार हामीले सेवा दिन पाएको भए सुरक्षित पनि हुन्थ्यो तर यहाँ हतारमा काम गरेर सुविधा दिनुपर्ने वातावरण सिर्जना गरियाे,’ उनले भने। त्रिवि पनिकाले इतिहासमै पहिलो पटक माघ १५ गतेदेखि अनलाइन सेवा दिन थालेको थियो। 

त्रिविका निमित्त उपकुलपतिबाट कम्प्युटरको माउस क्लिक गरी अनलाइन सेवा शुभारम्भ भएपछि कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइनबाटै लिन सकिने जानकारी दिएका थिए। तर अनलाइन सेवा सुरु गरेको भोलिपल्टै अर्थात् माघ १६ गते नै पनिका बल्खुको वेबसाइट सामान्य ह्याकरको नियन्त्रणमा पुग्यो।

१६ गते मंगलबार बेलुकीदेखि नै उक्त वेबसाइट ह्याकरको नियन्त्रणमा गएपछि साइट खोल्दा ‘रोहित रोकाया’ नामको फेसबुक प्रोफाइलमा रिडाइरेक्ट भएको थियो।

त्यसपछि कक्षा १२ मा पढ्दै गरेका ह्याकर किशोरले चुनौती दिँदै भनेका थिए, ‘हिजोदेखि टियुले अनलाइन सेवा सुरु गरेसँगै यसले टियुको वेबसाइटमा अट्याक सर्फेस पनि बढाएको छ, यसले गर्दा टियुको वेबसाइटमा सुरक्षा चुनौती थपिएको छ, अब टियुले अनलाइन प्रणालीबाट आएका लाखौँ कागजपत्रलाई सुरक्षित राख्नुपर्ने हुन्छ, त्यसैले टियुले कुनै पनि सफ्टवेयर बनाउँदा सुरक्षाको पाटोलाई पनि विशेष महत्त्व दिन अत्यन्त जरुरी छ, म तपाईंलाई सूचना दिन चाहन्छु कि ह्याकिङ गर्नु अवैध र अनैतिक छ र म अनैतिक कार्यका लागि कुनै पनि सहायता वा समर्थन प्रदान गर्न सक्दैन, सबैको डाटा सुरक्षित छ, धन्यवाद।’

यो ह्याकबाट त्रिविको ‘डेटा’ सुरक्षामा चुनौती छ भन्ने चेतना फैलिएको आइटी विभाग प्रमुख शाहीले बताए। ‘ह्याक गर्न अनैतिक कार्य हो, यसले गर्दा देश तथा विदेशमा रहेका विद्यार्थीहरुलाई समस्या भयो, नकारात्मक सन्देश फैलियो तर सुरक्षा हिसाबले चुनौती छ भन्ने सन्देश दियो,’ उनले भने।

‘अब छिट्टै वेबसाइट चल्छ’

पनिकाको वेबसाइट ह्याक भएको १३ दिन बितिसकेको छ तर अझै चलेको छैन। पनिकाको वेबसाइट (tuexam.edu.np) खोल्दा अहिले माघ २४ गते जारी भएको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचनामात्रै देखिएको छ।

आइटी विभाग प्रमुख शाहीले अब छिट्टै चल्ने बताए। ‘वेबसाइट बनाउने काम भइरहेको छ, अब धेरै समय लाग्दैन, छिटो नै सञ्चालनमा आउँछ,’ उनले भने। उनले अर्को पटक पनि यस्तो समस्या नदोहोरियोस् भनेर सुरक्षित बनाउँदा खोजिँदा समय लागेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.