|

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रूपमा मनाइने बताएका छन्।

मंगलवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यो वर्षका लागि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि अदालतले अहिले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै त्यसलाई खारेज गर्दा अदालतको निर्णयलाई पालना गर्नु आफ्नो कर्तव्य भएको बताए।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले शान्ति प्रक्रियालाई पार गरिसकेपछि सरकारले अर्को निर्णय गरी जनयुद्ध दिवसलाई सरकारी तर्फबाट नै औपचारिक रूपमा मनाउने स्थिति आउन सक्ने बताए।

श्रेष्ठले भने, ‘यो वर्षका लागि पनि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। राजपत्रमा पनि प्रकाशित भइसकेको थियो। अदालतले अहिले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै त्यसलाई खारेज गरिदियो। त्यो अदालतको कार्यक्षेत्रको विषय हो कि होइन, अर्कै बहस छ। अदालतको निर्णय पालना गर्नु आफ्नो कर्तव्य ठान्छौँ। सरकारले औपचारिक रूपमा बिदा देओस् नदेओस्। आजको दिन ऐतिहासिक जनयुद्ध दिवस हो, क्रान्तिकारी नेपाली जनताले यसलाई मनाउँछन्। मनाइरहेका छन्।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिलेको उपलब्धिको रक्षा गर्नु आफूहरूको प्रमुख कार्यभार रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.