|

काठमाडौँ : विद्यार्थीहरू पछिल्लो समय नेपालमा गुणस्तरीय शिक्षा पाउन नसकिएको भन्दै उच्च शिक्षाका लागि विदेश जानेहरूको लर्को छ। दैनिक बिहानैदेखि नै सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिनेको घुइँचो छ।

शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार अहिले दैनिक ५०० देखि ७०० जनाले एनओसी लिन्छन्। जसकारण त्रिभुवन विश्वविद्यालय (त्रिवि), आंगिक क्याम्पस र सम्बन्धन प्राप्त निजी कलेजहरूलाई विद्यार्थी पाउन मुस्किल परेको छ। यही अवस्थालाई मध्यनजर गर्दै त्रिविले विभिन्न नयाँ शैक्षिक कार्यक्रमहरू ल्याउन थालेको छ।

विद्यार्थीहरूलाई यही पढाइमा आकर्षित बढाउन त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले नयाँ बिआइटी कार्यक्रम ल्याएको छ। ‘हामीले अर्को माउन्टेन टुरिज्म, साइन्स जस्ता विषयमा नयाँ कार्यक्रम ल्याएका छौँ, कोर्स रिभाइज गर्ने गरेका छौँ’, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन खगेश्वर मण्डलले भने। 

बाहिर  विद्यार्थीहरू घटेको हल्ला फैलिए पनि उनले विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा  विद्यार्थीहरू नघटेको दाबी गरे। झनै बढ्दै गएको उनको भनाइ छ। उनका अनुसार  २०७७ मा बिएस्सी इन्ट्रान्स आवदेन दिनेमा ५ हजार ३२३ थिए भने २०७८ मा बढेर ६ हजार १४६ जना पुगे। यस्तै २०७९ मा ७ हजार २४३ जनाले फाराम भरेकोमा बढेर २०८० मा ८ हजार ७५५  विद्यार्थी पुगेको उनले बताए।

बिएस्सी सिष्टमा पनि  विद्यार्थी संख्या बढेको उनले बताए। उनका अनुसार २०७७ मा ४ हजार ८४१ ले फारम भरेका थिए भने २०७८ मा ६ हजार २४५ ले भरे। २०७९ मा ५ हजार ९३० जनाले फाराम भरेकोमा २०८० मा ५ हजार ५१३ जनाले फाराम भरेको उनले जानकारी दिए।

‘बिआइटीमा २०७७ मा ७८७ जनाले फाराम भरेका थिए, २०७८ मा बढेर एक हजार ८ जना पुग्यो, २०७९ मा १ हजार ८२० जना र २०८० मा १ हजार ७८० ले आवेदन दिए,’ उनले भने। उनका अनुसार एमएस्सीमा २०७८ मा १ हजार ८५५ ले आवेदन दिएकोमा २०७९ मा १ हजार ४८० र २०८० मा १ हजार ७१२ जनाले आवेदन दिएका थिए। उक्त अध्ययन संस्थानको देशभर २४ वटा आंगिक क्याम्पस छन भने ८९ वटा सम्बन्धन प्राप्त कलेजहरू छन्।

जुनसुकै विषयमा स्नातक गरेकाले माष्टर्समा अंग्रेजी र नेपाली पढ्न पाइने 

त्रिविले जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी र नेपाली पढ्न पाउने व्यवस्था पनि गरेको छ। त्रिवि अंग्रेजी केन्द्रीय विभागका प्रमुख प्रा.डा. जीवलाल सापकोटाका अनुसार त्रिविबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा मान्यता प्राप्त कुनै पनि विश्वविद्यालयबाट न्यूनतम १०० पूर्णाङ्क वा सो सरह अंग्रेजी सहित कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समक्षकता प्राप्त गरेकाले पढ्न पाउनेछन्।

यस्तै, अंग्रेजी मातृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेकाले पढ्न पाउने उनले बताए। पहिला स्नातक तहमा नेपाली विषय पढेकाले मात्रै स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने व्यवस्था परिवर्तन गरी अहिले जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने व्यवस्था गरिएको छ।

त्रिवि नेपाली विषय केन्द्रीय विभागका विभागीय प्रमुख तथा नेपाली विषय स्थायी समितिका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुइटेलका अनुसार त्रिविबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेकाले नेपाली पढ्न पाउनेछन्। 

त्रिविको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले भने हाललाई नयाँ शैक्षिक कार्यक्रम ल्याएको पाइएन। अध्ययन संस्थानका सहायक डीन किशोरचन्द्र दाहालले पहिलाकै कार्यक्रमहरू चलाउँदै आएको जानकारी दिए।

उनका अनुसार आंगिक क्याम्पसमा  विद्यार्थीहरू नघटे पनि सम्बन्धन प्राप्त कलेजमा भने कोटाअनुसार  विद्यार्थीहरू भर्ना भएका छैनन्। त्रिविको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको देशभर ४ वटा आंगिक र सम्बन्धन प्राप्त कलेजहरू छन्। ‘गत वर्ष आंगिक क्याम्पसहरूमा पाँच सय कोटामा पूरा विद्यार्थी भर्ना भए, यो वर्षमा पनि सोही कोटाअनुसार  विद्यार्थीहरू भर्ना भए’, उनले भने।

तर प्रत्येक सम्बन्धन प्राप्त कलेजमा ५० जना कोटा कायम भएकामा भने २५ प्रतिशत मात्रै भर्ना हुने गरेका छन्। ‘पछिल्लो समय  विद्यार्थीहरू प्लस टु सक्नेबित्तिकै विदेश जाने प्रवृत्ति बढ्दै गयो,अर्कोतिर यो कृषि ग्रामीण भेगमा बढी अध्ययन र अध्यापन हुनुपर्ने हो तर विभिन्न शहर बजारमा  विद्यार्थीहरू आए, त्यसैले पनि कोटा अनुसार भर्ना भएनन्’, उनले भने। उनले यस विषयमा सोच्नुपर्ने वेला आएको बताए। 

अनलाइन सेवा थालनी

त्रिविले यही  विद्यार्थीहरूलाई टिकाइराख्न र सेवा लिन सहज बनाउन इतिहासमै पहिलोपटक अनलाइन सेवा पनि थालनी गरेको छ। माघ १५ गतेदेखि सेवा थालेकोमा कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइनबाटै लिन सकिने त्रिविले जनाएको छ।

तर अनलाइन सेवा सुरू गरेको भोलिपल्टै अर्थात् माघ १६ गते नै त्रिवि परीक्षा नियन्त्रण कार्यालयको बल्खुको वेबसाइट ह्याक भएपछि हालसम्म मर्मतकै काम जारी छ। आइटी विभाग प्रमुख दीपकबहादुर शाहीले अब छिट्टै बनाइसकेपछि सेवा थाल्ने जानकारी दिए।

‘विद्यार्थीहरूलाई सुविधा दिन, यही अध्ययनमा आकर्षित बनाउन यो सेवा पनि त्रिविले ल्याएको हो’, उनले भने। यो अनलाइन सेवाले देश तथा विदेशमा रहेका लाखौँ विद्यार्थीहरूलाई सेवा लिन सहज र छिटो मिल्ने उनको विश्वास छ। 

दैनिक सयौँ विद्यार्थीहरूले उच्च शिक्षाका लागि विदेश जान एनओसी लिइरँदा त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहाल भने त्रिविमा विद्यार्थी संख्या नघटेको दाबी गर्छन्। ‘बाहिर मिडियामा आएजस्तो  विद्यार्थी संख्या घटेको छैन, कुनै विभागहरू बन्द भएका पनि छैनन्,एक सेमेष्टरमा कम  विद्यार्थी होलान्,अर्को पटक बढी भइहाल्छन्,गुणस्तरीय शिक्षा प्रदान गर्नमा त्रिवि लागिपरेकै छ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.