|

तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव थियो । संघीय सरकारबाट चालु वर्षमा दुई करोड रुपैयाँ बजेट विनियोजन भएपछि पानी ल्याउन ट्याङ्की निर्माण हुन थालेको छ।  
    

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानीको ट्याङ्की निर्माण गर्न थालेको बताए। उनले भने, ‘यहाँको खानेपानीको समस्या सम्बोधन गर्न नगरपालिका प्रतिबद्ध छ। हामी स्थानीयलाई यही फर्कने वातावरण बनाउँदैछौँ । यहाँको खानेपानी समस्या सम्बोधन हुन्छ ।’

व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले अबको एक हप्तामा खानेपानीको मुहान निश्चित हुने जानकारी दिए। ‘करिब छ–सात किलोमिटरको दूरीबाट खानेपानी बोरिङ गरेर ल्याउनेछौँ । केही मुहानमा विवाद हुँदा ढिलाइ भएको छ’,उनले भने, ’समन्वय गरिरहेका छौँ।’ पानी ल्याउने मुहान सुनिश्चित भएपछि पानीको समस्या टर्नेछ। 

विगतमा घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँ सरी मानुङकोटको फेदीतर्फ झरे। पानी सहज हुने स्थानतर्फ झरेका स्थानीय यहाँ पर्यटक आगमन बढ्न थालेपछि फर्किन थालेका हुन् । करिब पाँच वर्षयता मानुङकोट पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएको छ। 

विगतमा करिब ५०–६० घरधुरी बस्दै आएकामा पानीको समस्या भएपछि मानुङकोटको फेदी अलैचे, पाटनतर्फ झरेका हुन्। मानुङकोटमा केही सुविधासम्पन्न होटल बन्ने क्रममा छन्। तर पानीको अभाव कहिले पूर्ति हुन्छ भनेर अपेक्षामा रहेका होटल व्यवसायी खानेपानी ट्याङ्की बन्न लागेपछि खुशी छाएको व्यवसायी चूडामणि दाहालले बताए। ‘सुविधासम्पन्न होटल बन्दै गए पनि पानीको समस्या हल नभएसम्म सकस नै रहेको छ । अब ती समस्या एक वर्षमा पूरा हुने अपेक्षा गरिएको छ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.