|

बैतडी : सुदूरपश्चिम प्रदेश बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल यू-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। ​सुदूरपश्चिमले उपाधिका लागि भोलि (बिहीवार) कोहलपुर मेयर-११ सँग भिड्नेछ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको समान ४ अंक रहे तापनि नेट रन रेटमा अघि रहँदै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिमको नेट रन रेट ०.०६६१, गण्डकीको ०.३१५ र बागमतीको -०.४९२ रह्यो।

लिग चरणका सबै ४ खेल जित्दै ८ अंकसहित कोहलपुर मेयर-११ अंकतालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का गर्‍यो।

​सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई तथा कोहलपुर मेयर-११ ले बागमती प्रदेशलाई पराजित गर्‍यो। सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो।

​लुम्बिनीले दिएको ६० रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेट गुमाएर ७.४ ओभरमा भेट्टायो।

सुदूरपश्चिमको लागि मनिषा बोहराले १४ बलमा ४ चौका मद्दतले सर्वाधिक २३ तथा अनु कडायतले १७ बलमा ३ चौका मद्दतले १८ रन योगदान दिइन्। स्नेहा महराले १० रन योगदान दिइन्। 

बलिङमा लुम्बिनीकी सुश्मिता भुसालले २ र सरु तिवारीले १ विकेट लिइन्।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले १९.३ ओभरमा ५९ रनमा सबै विकेट गुमायो।

लुम्बिनीको लागि एन्जिला पाठकले सर्वाधिक १७ रन योगदान दिइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमले अतिरिक्तको रुपमा १७ रन खर्चियो।

​सुदूरपश्चिमको बलिङमा रबिना साउदले सर्वाधिक ३ विकेट लिइन्। प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा ९ रन खर्चिन्। करिश्मा थापाले २ तथा अनु कडायत र निशा खडायतले १/१ विकेट लिए।

कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा ५ टोली सहभागी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.