रौतहट : गत ४ दिनदेखि थन्किएको सरस्वतीको मूर्ति रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै सहमतिअनुसार विसर्जन गरिएको छ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमवार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयअनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो।
ईशनाथ–७ घिउरा गाउँ विद्यालयछेउको सार्वजनिक पोखरीमा यसअघि भएको सहमतिअनुसार मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीको अध्यक्षतामा सोमवार जिल्ला समन्वय समितिको सभाकक्षमा बसेको बैठकमा नेपाल प्रहरीका डीआईजी पोखरेल, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धानका डीआईजी सञ्जय यादव तथा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो।
बैठकलगत्तै संघीय सांसद किरणकुमार साह, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादव, तीनैजना डीआईजी, दलका प्रतिनिधि सम्मिलित टोली स्थलगत पुगेर ४ दिनदेखि थन्किएको मूर्ति विसर्जन गरिएको हो।
यसअघि संघीय संसद किरणकुमार साहको पहल तथा सीडीओ रेग्मीको अध्यक्षतामा ईशनाथ–७ घीउरा गाउँमा डिजे बाजासहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँछेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा विसर्जन गर्न लैजाने सहमति भएको थियो। सोही निर्णयअनुसार मूर्ति विसर्जन गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।