काठमाडौँ : नेपाली कांग्रेसको महासमिति बैठकमा राजनीतिक नियुक्तिमा सदाचारको खोजी हुनुपर्ने प्रस्ताव पेश भएको छ। महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको देशको समसामयिक राजनीतिक प्रतिवेदनमा राजनीतिक नियुक्ति गरिँदा योग्यता, निष्ठा र इमानदारीको ट्रयाक रेकर्ड नपल्टाउनाले सुशासनलाई बल नपुर्याएको उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक नियुक्ति गरिरहँदा तत्तत् स्थानका लागि व्यक्तिको व्यावसायिक योग्यता, निष्ठा र इमानदारीको ट्रयाक रेकर्ड नपल्टाउने कार्यले सुशासनलाई बल पुर्याउन्न। यसबारे हाम्रा आफ्नै अनुभव सन्तोषजनक छैनन्।’
पछिल्लो समय सरकारले गरिरहेको र गर्ने तयारी गरिरहेका कतिपय महत्त्वपूर्ण नियुक्तिमा भागबन्डाको सन्देश गएकाले त्यो आलोचनाको विषय बनेको प्रतिवेदनमार्फत महामन्त्री शर्माले भनेका छन्।
प्रतिवेदनमा भनिएको छ, ‘विश्वविद्यालयका उपकुलपति नियुक्तिको प्रक्रियादेखि व्यक्तित्वको छनोटसम्मको विषयमा सरकारले नागरिकमा नवीन आशा जगाउने ढंगले नयाँ सन्देश दिन सक्नैपर्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।