काठमाडौँ : सिंहदरबार आउन लागेका मिटरब्याजी पीडितहरूलाई प्रहरीले भृकुटीमण्डपमै रोकेको छ।
विगत २५ दिनदेखि निरन्तर पैदल यात्रा गरेर काठमाडौँ आएका पीडितको सिंहदरबार अगाडि 'न्याय मार्च' गर्ने योजना थियो तर प्रहरीले उनीहरूको योजना भने सफल हुन दिएन।
प्रशासनले व्यापक प्रहरी परिचालन गरी उनीहरूलाई भृकुटीमण्डपमा नै रोकेको हो। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले यो धरपकडले नतिजा राम्रो नआउने चेतावनी दिएका छन्।
'हामी शान्तिपूर्ण रुपमा न्याय मार्च गर्दा प्रहरीले धरपकड गरेको छ, पीडितको पक्षमा हुनुपर्ने सरकार सुदखोरको पक्षमा रहेको प्रष्ट भएको छ', उनले थाहाखबरसँग भने।
प्रहरीले धरपकड गर्दैमा आफूहरूको न्याय मार्च नरोकिने उनले बताए। माघ १६ गते नेपालको पूर्वी नाका काँकडभिट्टा र पश्चिमको गड्डाचौकीबाट उनीहरूले एकसाथ पैदलयात्रा सुरु गरेका थिए। देशभरका मिटरब्याज पीडितले ६ बुँदे माग राखी प्रदर्शन गरिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।