|

काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको सङ्ख्या पनि बढ्दो छ। सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८४८ जनाका लागि माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आवेदन पर्नुले पनि यसलाई पुष्टि गर्छ।

शनिबारकाे गोरखापत्र दैनिकमा समाचार छ, दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ। त्यसै अनुसार योपटक सबैभन्दा धेरै कोटा नेपालले पाएको छ। सन् २०२४ मा माग भएको भाषा परीक्षामा एक लाख ६३ हजार ६३५ जना सहभागी भएका छन्। सोही अवधिमा चार हजार ७०५ जना नेपाली श्रमिक कोरिया गएका छन्। 

दक्षिण कोरियाले पछिल्लो समय कृषि तथा पशुपालन, उत्पादन, निर्माण, सेवा र पानीजहाज निर्माण क्षेत्रमा नेपालबाट श्रमिक लैजाने प्रक्रिया अघि बढाएको छ। ईपीएस प्रणालीबाट १६ वटा देशबाट श्रमिक लैजाने गरेको दक्षिण कोरियाले यस अन्तर्गत सबैभन्दा धेरै श्रमिक नेपालबाट छनोट गरिरहेको छ। ईपीएसमार्फत आवेदन दिएका सबै आवेदकको भाषा परीक्षा कारियाली प्रतिनिधिको सहभागितामा हुने गरेको छ। 

वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार आर्थिक वर्ष २०७९\८० मा ईपीएस भाषा परीक्षा उत्तीर्ण गरेर नेपालबाट २२ हजार र चालु आव २०८०\८१ पहिलो सात महिनामा लगभग नौ हजार नेपाली ईपीएसमार्फत दक्षिण कोरिया पुगेका छन् । 

ईपीएस कोरिया शाखाका अनुसार डेढ दशकको अवधिमा एक लाख पाँच हजार ९७३ नेपालीले दक्षिण कोरियामा रोजगारी पाएका छन् । जसमा ९६ हजार ७०५ पुरुष र नौ हजार २६८ महिला छन्। सन् २००८ देखि दक्षिण कोरियाले ईपीएसमार्फत नेपाली श्रमिकलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको हो। 

सन् २००८ देखि २०२३ सम्म सञ्चालित भाषा परीक्षामा करिब आठ लाख २८ हजार ६२६ युवाले सहभागिता जनाएका थिए। सन् २००७ मा नेपाल र दक्षिण कोरियाबीच ईपीएसमार्फत नेपाली श्रमिक लैजाने विषयमा जिटुजी सम्झौता सम्पन्न भएलगत्तै सन् २००८ देखि नै कोरियाले कोटा छुट्याएर नेपाली श्रमिक लैजाँदै आएको हो ।

सन् २००८ मा ८१ महिलासहित दुई हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएका थिए। यो वर्ष ३१ हजार ५२५ जना भाषा परीक्षामा सहभागी भएका थिए भने ३०८ महिलासहित छ हजार ४०६ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए। 

कोरिया सरकारले बर्सेनि नेपाली श्रमिकको कोटा बढाउँदै लगेको छ। कोरिया सरकारले ईपीएसमार्फत सन् २०२३ देखि नेपालबाट प्रत्येक महिना लगभग दुई हजारका दरले नेपाली श्रमिक लैजाने सङ्केत गरेको छ। अन्य मुलुकको तुलनामा आकर्षक सेवा सुविधाका कारण पनि दक्षिण कोरिया नेपाली युवाको आकर्षक श्रम गन्तव्यमा परेको ईपीएस शाखाका निर्देशक मैयाँ कँडेलले बताइन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.