|

काठमाडौं : चिरञ्जीवी वाग्लेद्वारा लिखित आख्यानात्मक कृति  ‘बहादुर शाह’ पुस्तक सार्वजनिक भएको छ। यो पुस्तक नेपालयले प्रकाशन गरेको छ।

गोरखाबाट राज्य विस्तार थालेका पिता पृथ्वीनारायण शाहको कदमलाई निरन्तरता दिने बहादुर शाहबारे पुस्तक लेख्ने वाग्ले स्वयं पनि गोरखाबाट तीनपटक सांसद निर्वाचित भई मन्त्री बनेका व्यक्ति हुन्।

नेपालको इतिहास पढ्दै आएका पाठकहरूका निम्ति बहादुर शाह साहसिक र स्वप्नद्रष्टा पात्र हुन् । योग्य पिताका सुयोग्य पुत्र अथवा अभागी राजकुमारका नाममा पनि उनलाई इतिहासमा उल्लेख गरिएको छ। कतिपय इतिहासकारले त उनलाई राष्ट्रिय विभूतिभन्दा माथिको योगदान दिएका तर विभूति नबनाइएका पात्र पनि भनेका छन्।

 ‘नेपालका कतिपय ऐतिहासिक पात्रहरूलाई गैरआख्यान पुस्तकमा पढ्दा लेखकीय आग्रहको झलक पनि भेट्दै आएको थिएँ,’ वाग्ले स्पष्ट पार्छन्, ‘म साहित्यमा रुचि राख्ने साहित्यकै विद्यार्थी भएको हुनाले आफूले जानेकै विधाबाट उपन्यासमार्फत बहादुर शाहको कथा प्रस्तुत गर्ने जमर्को गरेको छु।’

वाग्लेका अनुसार उनले यस पुस्तकको पाण्डुलिपि तयार पार्नासाथ उतिबेलै संस्कृतिविद् तथा इतिहास अध्येता सत्यमोहन जोशीलाई पढ्न दिएका थिए। जोशीको हस्तलिखित ‘दुई शब्द’लाई उनीप्रतिको सम्झनास्वरूप पुस्तकको प्राक्कथनमा समावेश गरिएको छ।

लेखक वाग्लेको यो तेस्रो पुस्तक हो। यस अघि उनका ‘बन्धनशालामा खीर’ र ‘बलिदानले बनेको देश’ पुस्तक प्रकाशित छन् । तीन सय १६ पृष्ठको यो पुस्तकको मूल्य छ सय ७५ रुपैयाँ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.