|

काठमाडौँ : रंगकर्मी प्रवीण खतिवडाले लेखेको ‘अकथ्य’ कथासङ्ग्रह सार्वजनिक भएको छ। 

शनिवार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा सो पुस्तक समीक्षक/लेखक सीके लाल, कलाकार सौगात मल्ल र लेखिका सगुना शाहले संयुक्त रूपमा लोकार्पण गरे। 

सो अवसरमा सीके लालले पुस्तकमाथि टिप्पणी गर्दै अकथ्य खतिवडाको पहिलो कृति भए पनि अझै पढूँ पढूँ लाग्ने पाठकलाई आकर्षित गर्ने कथाहरू रहेको बताए। 

उनले नाटक, अभिनय र निर्देशनमा सक्रिय लेखक खतिवडाका यस कृतिमा समेटिएका नौवटा कथाका विविध पाटोबारे चर्चा गर्दै खतिवडाले लेखनमा चालेको पाइलाको निरन्तरता दिन सुझाव पनि दिए।

प्रकाशक परिचय पब्लिकेशनका निर्देशक दीपेन्द्र भट्टले सो पब्लिकेशनबाट यसअघि बालसाहित्यका पुस्तकमात्र प्रकाशन गर्दै आएकामा ‘अकथ्य’ बाट अन्य विधा र सबै उमेर समूहका लागि हुने बौद्धिक खुराक पस्किने जमर्को गरेको बताए।

लेखिका सगुना शाहले पुस्तक लोकार्पण समारोहमा सहभागी भएर कृतिबारे बोल्न नै आफूलाई धक लाग्ने बताउँदै पुस्तकमा रहेका कथा, कवितालगायतका विविध खुराक पाठक/दर्शकलाई पस्किनुभन्दा किनेर पढ्नमा आफूलाई रुचि लाग्ने बताइन्।

उनले खतिवडाको यो कृति पढेर पाठकले ज्ञानको दायरा फराकिलो बनाउन सक्ने आशा व्यक्त गर्दै आफू शिक्षिका भएकाले विविध विधाका पुस्तक पढ्न निकै रुचि लाग्ने बताइन्।

सो अवसरमा कलाकार सौगात मल्लले अभिनयको मञ्चमा सँगसँगै अभिनय गर्ने अवसरका कारण लेखक खतिवडालाई नजिकबाट चिनेको र पहिलो कृतिमार्फत लेखनको दुनियाँमा पनि पाइला अगाडि बढाएकामा शुभकामना दिए।

उनले ‘आफूलाई बेला बेलामा लेखनमा जोडिन आग्रह त आउँछन् तर लेख्न सकिएको छैन’ भन्दै लेखक खतिवडाको कृति पढेरमात्र कथाबारे प्रतिक्रिया दिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.