पर्वत : पोखरामा नियम विपरीत स्वरूप परिवर्तन गरेर समाजमा होहल्ला मच्चाउँदै ध्वनि प्रदूषण गरेका करिब सात सय मोटरसाइकललाई कारबाही गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर रानाका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा गत भदौ २५ गते यता छ सय ८१ वटा मोटरसाइकलहरूलाई कारबाही गरिएको छ।
समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, साईलेन्सर पाइपबाट आगो समेत निकाल्ने मोटरसाइकलहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्ने कास्की प्रहरीको अभियान अन्तर्गत गरिएको कारबाहीबाट जरिवाना स्वरूप सात लाख ४२ हजार सात सय रुपैयाँ राजश्वका रूपमा सङ्कलन भएको छ।
स्वरूप परिवर्तन गरेका मोटरसाइकलका कारण समाजमा होहल्ला र ध्वनि प्रदूषण बढिरहेको भन्ने गुनासो अत्यधिक रूपमा जनगुनासो आएपछि फागुन १७ गतेदेखि २० गतेसम्म ट्राफिक चेकिङलाई ह्वात्तै बढाएपछि तीन दिनको अवधिमा ५९ वटा मोटरसाइकलहरू नियन्त्रणमा लिइएका छन्। जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएका ती मोटरसाइकलहरूमध्ये पटके कारबाहीमा परेकाहरूलाई आवश्यक कारबाहीको लागी यातायात कार्यालय कास्कीमा पठाउने तयारी थालिएको छ।
तर पहिलो पटकमा परेकाहरूलाई मोडिफाई गरिएका सामानहरू फेर्न लगाई पहिलेको जस्तै बनाउन लगाई ट्राफिक नियम उल्लङ्घनमा जरिबाना गरी अभिभावकको जिम्मा लगाई छाड्ने कास्की प्रहरीले बताएको छ। उक्त कार्य गर्ने गराउने वर्कसप समेतको निगरानी गर्ने, पहिचान गर्ने र उक्त वर्कसप सञ्चालकहरू समेतलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने पनि कास्की प्रहरीको योजना छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरूप परिवर्तन, पार्टपुर्जा थप्न वा घटाउन रङ परिवर्तन गर्न नपाइने व्यवस्था रहेको छ। यही व्यवस्थालाई टेकेर कास्की प्रहरीले मोटरसाइकल चेकिङमा कडा निगरानी गरिरहेको प्रहरी निरीक्षक रानाले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।