काठमाडौं : विश्वभर नै नसर्ने रोगका बिरामी बढेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को पछिल्लो विवरणअनुसार विश्वभर नसर्ने रोगबाट प्रत्येक वर्ष ४ करोड १० लाख मानिसले ज्यान गुमाउँछन्।
यस्तै प्रत्येक वर्ष ७० वर्ष नपुग्दै नसर्ने रोगका कारणबाट एक करोड ७० लाख मानिसको मृत्यु हुने गरेको छ। नसर्ने रोगमध्येको एक मुटु तथा रक्तनलीसम्बन्धी रोगका कारण वार्षिक एक करोड ७९ लाख जनाको मृत्यु हुने गरेको छ।
यस्तै क्यान्सर रोगका कारण विश्वभर प्रतिवर्ष ९३ लाख जनाको ज्यान जाने गरेको छ। यसैगरी विश्वभर प्रतिवर्ष दीर्घ श्वासप्रश्वास रोगका कारण ४१ लाख जना र मधुमेह रोगको कारण २० लाख जनाले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको विवरण छ।
यस्ता नसर्ने रोगबाट हुने संक्रमण तथा मृत्युलाई जीवनशैली सुधार गरेर रोकथाम गर्न सकिने भए पनि गर्न नसकिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
विशेषगरी बदलिँदो जीवनशैली, खानापान, मोटोपन, धूमपान तथा अधिक मद्यपानलाई नसर्ने रोगको प्रमुख कारक तत्त्व मानिन्छ।
यस्तै नसर्ने रोग बढ्दै जानुको केही प्रत्यक्ष र केही अप्रत्यक्ष कारणमा बढ्दो जलवायु परिवर्तन पनि प्रमुख रहेको जनाइएको छ। बढ्दो जल-वायु प्रदूषण र अत्यधिक वर्षाजस्ता कारणले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा मानवको स्वास्थ्यमा असर पारिरहेको र नसर्ने रोग बढ्दै गएको बताइएको छ।
नेपालमा पनि नसर्ने रोगका बिरामी बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआईएस)को रिपोर्ट अनुसार पनि नेपालमा पछिल्ला वर्षमा मुटु र मिर्गौला रोगका साथै क्यान्सर जस्ता नसर्ने रोग बढेका छन्।
एचएमआईएसको रिपोट अनुसार हाल देशभर तीनलाख १२ हजार ३४२ जना मधुमेहका बिरामी रहेको देखिएको छ। कार्डियो भास्कुलर रोगका बिरामीको संख्या नेपालमा १९ हजार २६२ र क्यान्सर रोगका बिरामीको संख्या ६७ हजार ३८२ जना रहेको उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।