|

रौतहट : डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिएफओ र एकजना सहायक वन अधिकृत कार्यालय छाडेर बेपत्ता भएका छन् । 

उनीहरू बेपत्ता हुनुको कारण नेकपा एमाले निकट युवा संघ हो। रौतहटको चन्द्रपुर २ मा रहेको राष्ट्रिय वनमा दुई महिना पहिला दर्जनौं काँचा खयरका रुख कटान भएपछि स्थानीय बासिन्दा तथा नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बिक्रम लामाले स्थानीय संचारकर्मी बोलाएर खयर कटान भएको स्थान देखाएका थिए।

त्यसकै रिस साँध्न जुडिबेला सव वन डिभिजन कार्यालयका प्रमुख सुरेश महतोले सोही खयर कटान काण्डमा लामालाई पक्राउ गरेर थुनामा राखेपछि युवा संघले विरोध र चक्का जाम गर्न थालेपछि डिएफओ शैलेन्द्रकुमार मिश्र र सहायक वन अधिकृत महतो बिहीबारदेखि बेपत्ता भएका हुन्।  

लामालाई गत बुधबार डिभिजन वन कार्यालय चन्द्रनिगाहापुरमा गएको बेला पक्राउ गरेर वनको हिरासतमा राखेपछि कार्यालय प्रमुख मिश्र र सहायक वन अधिकृत महतो एकाएक बेपत्ता भएका हुन् । 

नेकपा एमालेका नेता कार्यकर्ता नियमित रुपमा वन कार्यालयमा गएर लामा पक्राउको विषयलाई लिएर नाराबाजी गर्न थालेपछि दुबै जना कार्यालय छाडेर हिँडेका हुन्। 

लामालाई सहायक वन अधिकृत महतो र महादेव स्थान सामुदायिक वनका अध्यक्ष केशव पुलामीको मिलेमतोमा सामुदायिक वनको लेटरप्याडमा खयर फँडानीमा लामाको संलग्नता रहेको भन्दै लिखित दिएपछि उनी पक्राउ परेका थिए । 

हाल वनको हिरासतमा रहेका लामाले सो सामुदायिक वनमा रहेको २२ क्युफिट काठ गोप्य रुपमा बिक्री गर्न लागेको र त्यो काठ आफूहरूले समेत खरिद गर्न पाउनुपर्ने भन्दै टेण्डर फर्म माग गर्न थालेका कारण पहिलाको खयरको रिस र यो दुबै रिस साँध्नका लागि पक्राउ गरेको पाइएको नेकपा एमालेका जिल्ला सचिव बाबुराम दाहालले बताए। 

एमालेको प्रेसर सहन नसकेर मिश्र र महतो कार्यालय छाडेर भागेपछि रौतहटको वनमा चोरी तस्करी बढेको स्थानीयले बताएका छन् । 

डिभिजन वन कार्यालय रौतहटका प्रमुख मिश्रा नियमित रुपमा कार्यालयमा नबस्ने गरेका कारण अन्य वन कर्मचारीले नियमित गस्ती नगर्दा वनमा चोरी तस्करी बढेको सर्वसाधारणले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.