|

उदयपुर  : कटारी नगरपालिका-१ खसिबास गाउँबाट दक्षिण चुरे जंगलक्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा पुग्न स्थानीयले श्रमदानबाटै बाटो निर्माण गरेका छन्। 

प्राकृतिकरूपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचार-प्रसारको अभाव र आवतजावतका लागि बाटो नभएका कारण यो स्थान ओझेलमा परेको थियो।

खसिबास गाउँबाट गुफा पुग्न करिब दुई घण्टा पैदल हिँड्नुपर्छ। वनक्षेत्र र पहाडी जङ्गलका कारण समस्या भएपछि स्थानीयले श्रमदानबाट बाटो बनाएका हुन्। यसका लागि पञ्चावती मावि खसिबासका पूर्वप्रधानाध्यापक ज्ञानबहादुर तामाङले नेतृत्व लिएका थिए। 

४० वर्ष शिक्षण पेशामा संलग्न भई अवकाश लिएका उनलाई करिब तीन महिना जनश्रमदानका लागि स्थानीय लासाङ तामाङसँगै स्थानीयवासीले सहयोग गरेका थिए। ‘गाउँलेले झण्डै तीन महिना बाटो खन्यौँ’, उनले भने, ‘आफ्नो ठाउँको मन्दिर ओझेलमा परेपछि यसको विकासका लागि आफैँ लागेर बाटो खनेका हौँ।’

गाउँलेको श्रमदानबाट निर्माण गरिएको बाटोमा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् पनि १० जनाले सय दिनको काम गरिरहेका छन्। कटारी–१ का वडाध्यक्ष पदमलाल मगरले भने, ‘नगरकै पर्यटनको सम्भावना बाकेको गुफा हो।’

यहाँ पुग्न सिद्धिचरण राजमार्गको कटारी–२ स्थित गुराँस र कटारी–३ को हडैँयाबाट सवारीसाधनमा खसिबासको बाँगेबजारसम्म जानुपर्दछ। बाँगेबजारबाट भने पैदल हिँडेर यस गुफामा पुग्न सकिन्छ। अहिले खसिबास स्थानीयले पूर्वशिक्षक  तामाङकै नेतृत्वमा श्रमदानबाट खसिबासबाट वडाकै वेलसोत जाने बाटो खनिरहेका छन्। 

जंगलको बीचमा रहेको गाउँबाट अन्यत्र जानसमेत समस्या भएपछि गाउँलेहरूले श्रमदानबाट बाटो बनाउन थालेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.