|

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकाका ६ हजार विद्यार्थीको भविष्य अन्योलमा परेको छ।

सो नगरक्षेत्रअन्तर्गत शिक्षक शिक्षिकाहरु तलब माग गर्दै धर्नामा बसेर बिहीवारदेखि सञ्चालन हुने वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ। शिक्षकहरूको निर्णयसँगै नगर क्षेत्रका ६ हजार विद्यार्थीको भविष्य अन्योलग्रस्त बनेको छ।

नगर शिक्षा संयोजक शिक्षक राधेश्याम यादवको अध्यक्षतामा बुधवार बसेको शिक्षकहरूको बैठकले बिहीवारदेखि हुने भनिएको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको हो।

पटकपटक आश्वासनमात्र पाउने र तलबकै लागि सधैँ आन्दोलन गर्नुपर्ने भएकाले अब उधारोमा सहमति नहुने शिक्षा संयोजक यादवले बताएका छन्। 

जबसम्म सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीको खातामा हालसम्मको तलब जाँदैन तबसम्म परीक्षा सञ्चालन नगर्ने निर्णय गरिएको संयोजक यादवले जानकारी दिएका छन्। फतुवा विजयपुर नगरपालिकामा ३२ वटा विद्यालय रहेका छन्।

प्रस्तावितसहित ७ मावि, ४ निमावि र २१ वटा प्राथमिक विद्यालय रहेको छ। ती सबै विद्यालयमा गरी कूल २०४ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको मावि सितलपुरका प्रधानाध्यापक बुनिलाल राय यादवले बताए।

त्यहाँ रहेका ३२ विद्यालयमा कक्षा १ देखि ९ सम्म रहेका झण्डै ६ हजार विद्यार्थी भोलिदेखि हुने वार्षिक परीक्षा दिने तयारीमा थिए। 

यसरी तलबको विवादकै कारण वार्षिक परीक्षा नभएमा फतुवा विजयपुर नगरक्षेत्रअन्तर्गतका करिब ६ हजार बालबालिकाको भविष्य अन्योलग्रस्त हुने देखिएको छ।

नगरपालिकाअन्तर्गत कार्यरत शिक्षकहरू बुधवार पनि तलब माग गर्दै धर्नामा बसेका थिए। होली आउन १० दिनमात्र बाँकी छँदा तलब पाउने सम्भावना झिनो देखिएकाले त्यहाँका शिक्षक कर्मचारी पुनः आन्दोलित भएका हुन्।

नगरक्षेत्रअन्तर्गतका शिक्षक र शिक्षिका आज कार्यालय समय शुरु हुनासाथ विहान १० बजेदेखि नगरपालिकाअगाडि धर्नामा बसेका थिए।

नगरभरिको शिक्षकहरूको बुधवार अपरान्ह ४ बजे बसेको भेलाले भोलिदेखिको वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ। 

फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले ५ दिनभित्र कुनै पनि हालतमा शिक्षक र कर्मचारीको तलब निकासा हुने बताएका छन्।

फतुवा विजयपुर नगरपालिकामा कांग्रेसबाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा दोषी ठहर भएर पद गुमाएपछि कांग्रेसकै उपमेयर अम्बेया खातुनले गत वर्षदेखि कार्यवाहकको जिम्मेवारी सम्हालिरहेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.