|

पर्वत : जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको पर्वत अस्पताल जिल्लाकै एक मात्रै ठुलो अस्पताल हो। दैनिक सयौँ बिरामीहरूको परीक्षण र उपचार हुने गरेको अस्पतालबाट फोहोर पनि उत्तिकै मात्रामा निस्किरहेको हुन्छ। वि.सं. २०४६ सालमा अस्पताल स्थापना भएदेखि नै जोखिमयुक्त फोहोर व्यवस्थापन गर्दा ‘जलाउने विधि’ रही आएको थियो।

अस्पतालका प्राङ्गण खनिएका खाल्डामा फोहोर जलिरहेको हुन्थ्यो। प्लास्टिकजन्य पदार्थ सहित अस्पतालबाट निस्कने विभिन्न प्रकारका फोहोर जल्दा धूवाँको मुस्लो मडारिँदै निस्किरहेको हुन्थ्यो। स्वास्थ्य आर्जन गर्न अस्पतालमा पुगेका नागरिक सहित आसपासको बस्तीका बासिन्दा पनि धूवाँ खेप्नै पर्ने बाध्यतामा थिए। उनीहरूले अस्पतालको धूवाँले बस्तीलाई प्रत्यक्ष असर गरेको र बस्तीमा बस्नै नसक्ने अवस्था आएको भन्दै विरोध गर्दै पनि आएका थिए।

कीटाणुका कारण उच्च जोखिममा रहने फोहोरलाई करिब ३४ वर्षदेखि ‘जलाउने विधि’ ले व्यवस्थापन गर्दै आइरहेको भए पनि अब भने यो समस्याको अन्त्य भएको छ। स्वास्थ्य संस्थाबाट नै उत्सर्जन भएको धूवाँले वातावरण प्रदूषित बनाउँदै स्थानीयलाई समेत निकै असर गरेपछि अस्पतालमा जोडिएको ‘अटो क्लेप्स’ उपकरणले धूवाँ विस्थापन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताए।

धूवाँका कारण स्थानीयले भोग्दै आएको समस्या र बिरामीलाई निको पार्ने स्वास्थ्य संस्थाबाटै मान्छे बिरामी बनाउने गरी निस्किरहेको धूवाँलाई नियन्त्रण गर्नको लागि १० लाखको लागतमा उपकरण जडान गरिएको उनको भनाइ छ।

‘म अस्पतालको अध्यक्षका रूपमा आएको केही समयमा नै बडागाउँबासी डेलिगेसन आउनुभयो। धूवाँका कारण समुदाय नै दुर्गन्धित बनेको, बस्तीमा बस्न नै कठिन भएको लगायतका समस्याहरू बताउनुभयो जुन कुरा ठिक थियो’, उनले भने, ‘यसको समाधानका लागि कुराकानी गरेपछि प्रदेश सरकारबाट आएको बजेटबाट अस्पताल व्यवस्थापन समितिमार्फत अटो क्लेप्स मेसिन जडान गरिएको हो।’ करिब एक वर्ष यता फोहोरको वर्गीकरण गर्दै आएकोमा पछिल्ला ६÷७ महिनायता सोही उपकरणबाट फोहोरलाई निर्मलीकरण गर्न थालेपछि जलाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष गिरीले बताए।

व्यक्तिको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने कीटाणु, रसायन वा अन्य पदार्थको सम्पर्कमा रहेको फोहोरलाई नगरपालिकाको फोहोर व्यवस्थापन सवारीमा सिधै राख्दा उक्त रसायन, पदार्थ, कीटाणुहरू हावा र पानीमा फैलिने जोखिम हुन्छ।

जसले धेरैलाई संक्रमित गर्ने वा स्वास्थ्यमा हानी पुर्‍याउन सक्ने भएकोले अस्पताल परिसरमा नै खाडल बनाएर सोही खाडलमा जलाउने गरिएको थियो। असर नगर्ने सामान्य प्रकृतिको फोहोर मात्रै नगरपालिकाका सवारीले उठाउने गरेको थियो।  

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार आजभोलि पहिलो फोहोरको वर्गीकरण गरेर जोखिम बहन गरेका फोहोरलाई सुरक्षित तवरले राखिन्छ। त्यो फोहोरलाई ‘अटो क्लेप्स’ ‘मसिन’ मा राखेपछि मसिनले कम्तीमा पनि एक सय २२ डिग्री सेल्सियस तापक्रम कायम हुने गरी बाफ निकाल्छ। त्यो बाफले फोहोरमा रहेका हानिकारक पदार्थलाई निष्क्रिय गरिदिन्छ। यसरी निर्मलीकरण गरिएको फोहोर ‘मेसिन’ बाट निकालेर सुकेपछि मात्रै नगरपालिकाको सवारीलाई दिने गरिएको छ।

‘संक्रमित व्यक्तिको उपचारको क्रममा रगत, र्‍याल, रासायनिक पदार्थ लागेका लगायतका जोखिमयुक्त फोहोरलाई सिधै व्यवस्थापनको लागि पठाउँदै त्यसैबाट झन् रोग फैलिने जोखिम हुन्छ। अहिले भने यो मसिनले वाष्पीकरण विधिबाट सबै कीटाणु र जीवाणुलाई नष्ट गरेको हुन्छ’, डा. बास्तोला भन्छन्, ‘यसले अस्पताल र यहाँको जनशक्ति सहित समुदाय र आम नागरिकलाई पनि स्वस्थ रहन मद्दत गरेको छ। धूवाँका कारण समुदायले भोगेको समस्याको पनि अन्त्य भएको छ।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.