|

पर्वत : लोक सेवा आयोग होस की शिक्षक सेवा आयोग होस, सम्बन्धित कार्यालयले गर्ने विज्ञापन नै किन नहोस्। कुनै पनि पदपूर्ति गर्दा सफल उम्मेदवारसँगै वैकल्पिक उम्मेदवारहरूको पनि नामावली प्रकाशन गरिन्छ। सफल उम्मेदवारले नियुक्ति लिएको एक वर्षभित्रमा नै जागिर छाडेमा वा नियुक्ति पत्र बुझ्नै नगएको अवस्थामा वैकल्पिक उम्मेदवारले मौका पाउने नियम छ।

शिक्षक सेवा आयोगले पर्वत जिल्लामा पदपूर्ति गरेकामध्ये केही शिक्षकले नियुक्ति पाएको पद त्यागेपछि १० जना वैकल्पिक उम्मेदवारले स्थायी जागिरको मौका पाएका छन्। शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धीमराज पौडेलका अनुसार२०७९ सालको मङ्सिरदेखि चैतसम्मको अवधिमा स्थायी नियुक्तिका लागि सिफारिस भएका तथा नियुक्ति समेत लिएका १० जनाले सम्बन्धित तह र श्रेणीमा पाएको नियुक्तिबाट राजीनामा दिएका छन्।  

एक वर्षभित्रको अवधिमा वैकल्पिक उम्मेदवारले मौका पाउने नियम अनुसार खाली भएका ती १० पदमा वैकल्पिक उम्मेदवारले मौका पाएका छन्। २०७९ मङ्सिर २९ मा माध्यमिक तहको तृतीय श्रेणीमा नियुक्ति पाएका लालमणि घिमिरेले ३० दिनसम्म पनि नियुक्तीपत्र बुझ्न नआएपछि उनको ठाउँमा गोकुल गैरेले मौका पाएका छन्। २०७९ चैत १६ मा प्राथमिक तहको तृतीय श्रेणीमा नियुक्ति पाएका रामचन्द्र पौडेल वैदेशिक रोजगारीमा गएपछि खाली  स्थानमा अमृत भुर्तेल पुगेका छन्।

प्राथमिक तहकै तृतीय श्रेणीमा कार्यरत खिमकुमारी पौडेल, किशोर उचै  र ऋषिराम पाण्डे निजामती सेवामा प्रवेश गर्दा रिक्त स्थानमा शिवराम पौडेल, सुमन शर्मा र हिरा गिरी स्थायी भएका छन्। प्राथमिक तहको तृतीय श्रेणीमै कार्यरत टङ्कप्रसाद भुसाल वैदेशिक रोजगारीमा जाँदा रिक्त स्थानमा नवीन प्रसाद रिजालले मौका पाएका छन्। माध्यमिक तहको तृतीय श्रेणीमा विज्ञान विषयमा कार्यरत अमृत अधिकारी खुल्ला प्रतिस्पर्धाबाट निजामतीतर्फको उपसचिव (नवौँ तह) मा सफल भएपछि उनको स्थानमा बालाकृष्ण ज्ञवालीले स्थायी नियुक्ति पाएका छन्।

यस्तै निम्न माध्यमिक तहको तृतीय श्रेणीमा कार्यरत विशाल पौडेलले माध्यमिक तहको नियुक्त पाएपछि रिक्त स्थानमा पदमसिंह ठगुन्ना तथा प्राथमिक तहको तृतीय श्रेणीमा रहेका सर्पबहादुर विष्टले निम्न माध्यमिक तहको नियुक्ति पाएपछि उक्त स्थानमा गिरीजापति क्षेत्री स्थायी भएका छन्।

बेरोजगार भएको अवस्थामा सकेसम्म शिक्षक सेवामै भए पनि प्रवेश गर्ने र यो पेसामा छिरेर सुरक्षित भएपछि अन्य पेसामा फड्को चाल्नेहरूको सङ्ख्या धेरै छ। शिक्षक सेवा आयोगलाई लोक सेवा आयोग जस्तै संवैधानिक निकाय नबनाउँदा पनि शिक्षा क्षेत्रमा धेरै समस्या छन्। शिक्षा सेवामा भन्दा निजामती सेवामा सेवा सुविधा बढी भएका कारण पनि शिक्षा सेवा छाडेर सकेसम्म निजामती सेवामै प्रवेश गर्ने तयारी गरिरहेका धेरै भेटिन्छन्।

‘निजामती सेवामा जस्तो सेवा सुविधा शिक्षक सेवामा छैनन्। आजभोलि समाज यस्तो बनेको छ की शिक्षक बनेर विद्यार्थीसँग व्यवहार गर्दा पनि जोखिम बढेका छन्। राज्यले शिक्षण पेसालाई विकल्पको रूपमा राखेको देखिन्छ’, एक जना शिक्षक गोविन्द ढकाल भन्छन्, ‘२०२८ सालको ऐनले अहिले सङ्घीयताको शिक्षा चलाएपछि यो पेसा कसरी आकर्षक बन्छ? राजनीतिक नेतृत्वको ध्यान शैक्षिक सुधारमा भन्दा राजनीतिमा मात्रै छ। गाली गर्नेहरूले पनि शिक्षकलाई मात्रै गाली गर्छन्।’

देशको सबै क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्ने शिक्षा क्षेत्र नै राज्यको कम प्राथमिकतामा पर्दा शिक्षा क्षेत्रका समस्या वर्षौँदेखि अड्किएर बसेका छन्। जसका कारण शैक्षिक बेरोजगारी बढ्ने, वैदेशिक पलायन हुने, अध्ययन पूरा गरेकाहरूमा पनि तह अनुसारको ज्ञानको कमी लगायतका समस्याहरू देखिँदै गएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.