|

काठमाडौँ : सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आवको बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन्।

सांसद ज्वालाले विज्ञ भने पनि, सल्लाहकार भने पनि, अनुभवी व्यक्ति भने पनि जनतासँग जोडिएका व्यक्ति सांसद भएकाले उनीहरूलाई भरोसा गरेर सरकारले बजेट ल्याउनुपर्ने बताएका हुन्। बुधवार प्रतिनिधिसभा बैठकमा आगामी आवको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले योजना निर्माणमा पनि सांसदहरूको सुझावलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद ज्वालाले सरकारले मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र समृद्धिको चाहनालाई तीव्रता दिने गरी बजेट ल्याउने अपेक्षा समेत गरे। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ बजेट परम्परा तोड्ने खालको हुने भन्दै आएको उल्लेख गर्दै सोही अनुसार आउनेमा आफूहरू आशावादी रहेको पनि बताए।

ज्वालाले भने, ‘बजेट निर्माण प्रक्रियामा पनि समावेशी, जवाफदेही र पारदर्शी हुनुपर्छ। बजेट निर्माण प्रक्रिया एकदमै अपारदर्शी छ। अर्थमन्त्रीसँग मेरो विशेष अनुरोध छ–बजेट निर्माणमा सांसदहरूलाई भरोसा गर्नुहोस्। सबैभन्दा नजिकका विज्ञ, सल्लाहकार, अनुभवी व्यक्ति जे भने पनि जनतासँग जोडिएका व्यक्ति भनेका सांसदहरू हुन्।’

सांसद ज्वालाले बजेट पारदर्शी ढंगले ल्याउन पनि सरकारलाई सचेत गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.