|

पर्वत : कास्कीको मादी गाउँपालिका-१ तउरेतीमा मृत भेटिएका जुगल गाउँपालिका–३ गुम्बास्थित बोल्देमा बस्ने ३६ वर्षीय रामबहादुर तामाङ हत्या श्रीमतीले नै गराउन लगाएको खुलेको छ। 

यही चैत ३ गते तउरेती स्थित सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डबाट करिब ३० मिटर तामाङको शव पाखामा फेला परेको थियो। बाटो हिँड्ने क्रममा लडेर मृत्यु भएको जस्तो देखिएको भए पनि जिल्ला प्रहरी कार्यालय कास्कीले शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने शङ्कासहित तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान थालेको थियो। 

स्थानीयवासीसँग गरिएको सोधपुछ, सीसीटिभी फुटेजका संकेत, शवको प्रकृति र घटनास्थल, भेटिएका प्रमाण लगायतको आधारमा उनको हत्या नै भएको हुने देखिएपछि प्रहरीले घटनाका विषयमा गम्भीर अनुसन्धान सुरु गरेको थियो।

यस क्रममा रामबहादुरको टाउकोमा पछाडिबाट ढुङ्गाले प्रहार गरी हत्या गरेको खुलेको थियो। त्यसमा उनकै कान्छी श्रीमती च्याङमा लामा तथा पेम्बा भनी चिनिने ३५ वर्षीया कान्छी लामा तामाङ र उनका प्रेमी ३० वर्षीय धनबहादुर लामा भन्ने धन लामाको संलग्नता रहेको पाइएको छ।

मजदुरी गर्दै आएका धनबहादुरको स्थायी ठेगाना सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-१ रहेको र कान्छी लामा साँगाचोकगढी नगरपालिका-५ स्थित चौतारा बजारमा डेरा गरी बस्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ। यस्तै सिन्धुपाल्चोककै बलेफी गाउँपालिका–६ का करिब १८ वर्षका अन्य दुई किशोर पनि घटनामा संलग्न रहेको हुनसक्ने अनुमानमा प्रहरीले यी चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। 

पक्राउ परेकाहरूसँग गरिएको अनुसन्धानको क्रममा श्रीमती कान्छी लामा मृतक रामबहादुर तामाङसँग अलग्गिएर बस्न योजना बनाएको र त्यसका लागि केही रकम समेत खर्च तयार रहेको कुरा आफ्नो प्रेमी अभियुक्त धन लामालाई बताएको खुलेको छ। 

यता धन लामा र रामबहादुरबीच पुरानो रिसिइवी भएको पनि खुलेको छ। पाँच वर्ष अगाडि सिन्धुपाल्चोकस्थित एक हाइड्रोपावरमा उनीहरूबीच झगडा भएको देखिएको प्रहरीले जनाएको छ। धनबहादुरले मृतकसँगै एक्स्काभेटर सहचालकको रूपमा काम गर्ने क्रममा रामबहादुरले धन लामाको टाउकोमा ढुङ्गाले प्रहर गरेर चोट दिएपछि धन लामाले रिस पालेको खुलेको छ। 

पुरानो रिसइवी रहेको तथा कान्छी लामाले समेत ‘यसलाई पन्छाउनुपर्‍यो पैसा दिन्छु’ भनेर बचन दिएको अवस्थामा घटना भएको पुष्टि भएको हो। यही योजना अनुसार गत चैत १ गते सिक्लेस स्थित हाइड्रोपावरतर्फ जाने क्रममा मृतक लगायत चार जनाले बाटोमा मादक पदार्थ सेवन गरेको खुलेको छ। मापसे गरी बाटोमा हिँडिरहेको अवस्थामा रामबहादुरले धन लामालाई गाली गरेपछि धनबहादुरले ज्यान लिने उद्देश्यले पछाडिबाट ढुङ्गाले टाउकोमा प्रहार गरेको पाइएको हो।  

रामबहादुर ढलेर घोप्टो परेपछि केही मुक्का प्रहार गर्दा समेत नचलेपछि घिसार्दै बाटो भन्दा २५ मिटर तल लगी एकान्त खोल्सामा फालेको बयान अभियुक्तले दिएका छन्। उनीहरूले मृतकको साथमा रहेको मोबाइलको पाटपुर्जा छुट्टाछुट्टै बनाएर भिरमुनिको जङ्गलमा फालेर मृतकको साथमा भएको दुई हजार रुपैयाँ समेत निकालेको तथा झोला र लत्ताकपडा झाडीमा लुकाइदिएका थिए। 

रामबहादुरको हत्या गरेपछि धनबहादुरले कान्छी लामालाई फोन गरेर अन्य दुई जनाले हत्या गरेको देखेकाले उनीहरूलाई चुप राख्न  पैसा पठाउन भनेका थिए। कान्छी लामाले ‘ई सेवा’मा जम्मा गरिदिएको ९० हजार निकाल्न मुख्य अभियुक्त धन लामा नै काठमाडौं पुगेर रकम निकालेका थिए। उक्त रकमबाट २०-२० हजार रुपैयाँ छे–दोर्जे लामा र फुर्वा लामालाई दिएको तथा बाँकी रहेको ५० हजार रुपैयाँ आफूले नै राखेको बयानका क्रममा खुलेको छ।  

मृतक रामबहादुर र कान्छी लामाबीच ५/६ वर्ष अगाडिदेखि नै मनमुटाव थियो। त्यसैले उनीहरू छुट्टाछुट्टै बस्ने गरेको समेत पाइएको छ। अर्को बिहे गरेको थाहा पाई जेठी श्रीमतीले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा बहुविवाह मुद्दामा जाहेरी दर्ता गराएपछि रामबहादुर कारागार चलान भएका थिए। अदालतको आदेश अनुसार ६/७ महिनामा कारागारबाट निस्किएपछि कान्छी र रामबहादुरबीच मनमुटाव हुन थालेको अनुसन्धानका क्रममा खुलेको छ। 

पक्राउ परेका चारजनालाई नै कर्तव्य ज्यान सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएका छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.