काठमाडौँ : गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा अर्को साता लुम्बिनी अन्तरराष्ट्रिय पिस म्याराथन हुने भएको छ।
फेस्टिवल नेपाल टुरिजम बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोषलगायतको आयोजनामा अर्को साताको शनिवार उक्त म्याराथन हुन लागेको हो।
लुम्बिनी अन्तरराष्ट्रिय पिस फेस्टिबलअन्तर्गत आगामी शुक्रवारदेखि दुई दिनसम्म फेस्टिवल हुनेछ। फेस्टिवलअन्तर्गत लुम्बिनी अन्तरराष्ट्रिय मेडिटेशन डे र लुम्बिनी पिस कन्सर्ट पनि हुनेछ।
आयोजकका अनुसार पुरुष म्याराथन, हाफ म्याराथन महिला, पुरुष र महिलाको ५ किलोमिटर खुला दौड र ५ किलोमिटर स्कुल ब्वाइज र गर्ल्सको पनि प्रतिष्पर्धा हुनेछन्।
म्याराथनमा शीर्ष १० भित्र पर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन्। शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः ५ लाख, ३ लाख र २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। चौथोले १ लाख, पाँचौँले ८० हजार र छैटौँले ६० हजार रुपैयाँ हात पार्नेछ।
महिला हाफ म्याराथनमा पहिलोले २ लाख, दोस्रोले १ लाख ६० हजार र तेस्रोले १ लाख २० हजार रुपैयाँ जित्नेछन्।
५ किलोमिटर खुला दौडतर्फ शीर्ष तीनमा रहनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
५ किलोमिटर स्कुल ब्वाइज र गर्ल्समा पनि शीर्ष तीन स्थानमा रहनेले १५ हजार, १० हजार र ५ हजार रुपैयाँको पुरस्कार पाउनेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।