उपकुलपतिले टिम बनाउनुपर्ने माग

|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) २०८० पुस १२ गतेदेखि रजिस्ट्रारविहीन छ। रजिस्ट्रार पेशल दाहालको कार्यकाल पूरा भएपछि सरकारले हाललाई डा. कृष्णप्रसाद बस्याललाई निमित्त रजिस्ट्रार तोकेको छ।

त्रिविका उपकुलपतिले रजिस्ट्रार र रेक्टर पद रिक्त भएपछि चैत ६ गते नै सूचना जारी गर्दै रजिस्ट्रार र रेक्टरका लागि इच्छुक प्राध्यापकहरूले ७ दिनभित्र बायोडाटा बुझाउन आवेदन माग गरेका थिए।

सोहीअनुसार उपकुलपति प्राडा केशरजंग बरालले चैत १५ मा रेक्टरमा प्रा.डा. खड्ग केसी र रजिस्ट्रारमा प्रा.डा. केदार रिजालको नाम त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सिफारिस गरे।

तर प्रधानमन्त्रीले हालसम्म रोकेका कारण नियुक्ति प्रकृया अघि बढेको छैन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत उक्त सिफारिसमा हस्तक्षेप गरेको पाइएको छ। 

त्रिविका उपकुलपतिको सचिवालयका अनुसार गत शुक्रबार प्रधानमन्त्री दाहाल, ओली तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र उपकुलपति बरालबीच बालुवाटारमा यसबारे छलफल भएको थियो।

उक्त छलफलमा एमाले अध्यक्ष ओलीले प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. वेदराज केसीलाई रजिस्ट्रार नियुक्त गर्नुपर्ने अडान लिए।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले नियुक्तबारे पुनर्विचार गर्न त्रिवि उपकुलपति बराललाई निर्देशन दिएका थिए तर सिफारिस भएकालाई नै नियुक्ति हुनुपर्ने अडान त्रिवि उपकुलपति बरालको छ। 

एमालेका अध्यक्ष ओलीले नियुक्त गर्न चाहेका प्रा.डा केसी एमाले राजनीतिमा सक्रिय रहेको आरोप छ। उनी २०७८ चैत २५ र २६  चैतमा काठमाडौंमा सम्पन्न संगठनको दशौँ राष्ट्रिय सम्मेलनमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा निर्वाचित भएका थिए।

उक्त कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष ओलीले नै गरेका थिए। विशेष अतिथिको रूपमा भने एमालेका महासचिव शंकर पोखरेल थिए। त्रिवि ऐनमा उपकुलपतिको सिफारिसमा कुलपतिले रेक्टर र रजिस्ट्रार नियुक्त गर्ने व्यवस्था छ। 

उपकुलपतिले टिम बनाई काम गर्न पाउनुपर्ने माग 

दलीय भागबन्डामा नभई खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपतिलगायत पदाधिकारी नियुक्त गर्ने बताउँदै आएका प्रधानमन्त्री प्रचण्ड अहिले आफैँ राजनीतिक भागबन्डामै नियुक्त गर्न लागि परेका छन्।

तर यता त्रिविका उपकुलपति बरालले भने खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति नियुक्त हुनुपर्ने माग गर्दै आएका छन्। उनले आफ्नो टिम बनाउन अधिकार पाउनुपर्ने पनि बताएका छन्।

प्रा.डा. बराल त्रिवि उपकुलपति नियुक्ति हुने बेला नै उनले रेक्टर, रजिस्ट्रार र भिसी एकेडेमिक‚ व्यवस्थापकीय र प्रशासकीय क्षमताका आधारमा नियुक्ति गर्नुपर्ने र यसका लागि आफूले उक्त टिम बनाउन पाउनुपर्ने माग प्रधानमन्त्री प्रचण्डसँग राखेका थिए।

त्रिविका चारजना पूर्वउपकुलपतिहरूले पनि उपकुलपतिले आफ्नो टिम बनाई काम गर्ने सुविधा पाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

चैत २३ गते त्रिविका पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जंग शाहले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उपकुलपतिले आफ्नो टिम बनाई काम गर्ने सुविधा पाउनुपर्छ। यसरी पदाधिकारीहरूको नियुक्तिमा ढिलो हुनु भनेको विश्वविद्यालयको नियमित काममा जानी नजानी अवरोध ल्याउनु पनि हो, योग्यताको आधारमा त्रिविका पदाधिकारीहरूको अविलम्ब नियुक्त गरेर उपकुलपतिको टिम पूरा गर्दै विश्वविद्यालयको नियमित काम सुचारू गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछौँ।’ 

‘भागबन्डा नमिल्दा विश्वविद्यालय अस्तव्यस्त बन्यो’

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका स्ववियु सभापति श्यामराज ओझाले सत्तापक्षबीच रेक्टर–रजिस्ट्रार नियुक्तिमा भागबन्डा नमिलेका कारण विश्वविद्यालय झन् झन् अस्तव्यस्त बनिरहेको बताएका छन्।

उनले सामाजिक सञ्जालबाट भनेका छन्, ‘त्रिविका उपकुलपति कार्यालय प्रवेश नगरेको पाँच दिन भयो, निमित्त रेक्टर र रजिस्ट्रारले नयाँ नियुक्तिका लागि सिफारिस भएका दिनदेखि नीतिगत काम गरिरहनु भएको छैन।’

नियुक्ति प्रकृया रोकिरहँदा यता परीक्षामा पनि लापरबाही बढिरहेको उनले बताए।

‘तर कुलपति (प्रधानमन्त्री–प्रचण्ड), सहकुलपति (शिक्षामन्त्री–सुमना श्रेष्ठ) र सत्तापक्षबीच रेक्टर-रजिस्ट्रार नियुक्तिमा भागबन्डा नमिलेका कारण विश्वविद्यालय झन् झन् अस्तव्यस्त बनिरहेको छ, यसरी पदाधिकारीविहीन बनाउनु अपराध हो, आम विद्यार्थीको आँखामा उक्त अपराध कुलपति र सहकुलपति दुवैले गरिरहेका छ्न्,’ उनले भने।

सिफारिस गरिएकै व्यक्तिलाई नियुक्त दिने आशमा उपकुलपति

प्रधानमन्त्रीबाट यसअघि सिफारिस गरिएकै व्यक्तिहरूलाई त्रिविको रेक्टर र रजिस्ट्रार नियुक्ति हुने आश त्रिवि उपकुलपति बरालले लिएका छन्।

‘त्रिविका उपकुलपतिज्यूले रेक्टर र रजिस्ट्रारका लागि सिफारिस गरिसक्नु भएको छ तर थप प्रकृया रोकिएको छ, प्रधानमन्त्रीज्यूले सिफारिस गरिएकै व्यक्तिहरूलाई रेक्टर र रजिस्ट्रारमा नियुक्ति गर्नुहुन्छ भन्ने आशा उपकुलपतिज्यूले लिनुभएको छ,’ त्रिवि उपकुलपति बरालका सचिवालयका एक पदाधिकारीले भने।

उनी भने हाल बिरामी बिदामा छन्। उनी बिरामी बिदामा बसेपछि अधिकांशले दबाब र सरकारको असहयोगका कारण बिदामा बसेको हुन सक्ने अनुमान गरेका छन्।

तर उनको सचिवालयले भने ढाडको समस्या रहेकाले बिदामा बसेको जनाएको छ। ‘ढाड दुख्नेसम्बन्धी पुरानै उहाँको समस्या रहेछ, फेरि अहिले त्यही बल्झिएर घरमै आराम गर्नुभएको छ,’ ती पदाधिकारीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.