|

पर्वत : नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशन मंगलबार शुरु हुँदैछ। 

नवौँ अधिवेशन भएको २७ महिनापछि विधानमा व्यवस्था भएभन्दा नौ महिनाअघि नै अधिवेशन गर्न लागेको नेकपा एमाले पर्वतका अध्यक्ष राजुप्रसाद पौडेलले बताए। अधिवेशनको उद्घाटन पार्टी उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गर्नेछन्। 

कुश्माको होटेल वन्दनाको सभा हलमा बिहान ११ बजेदेखि शुरु हुने अधिवेशनमा उपाध्यक्ष पौडेलसहित केन्द्रीय उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, प्रदेश इन्चार्ज गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्यहरू, प्रदेश अध्यक्ष नवराज शर्मा लगायतका नेताहरूको सहभागी हुँदै छन्। बुधवार र बिहीबार बन्द सत्र चल्ने छ। बन्द सत्रले आगामी कार्यकालको लागि नयाँ जिल्ला कमिटी निर्माण गर्ने छ। 

अधिवेशनमा जिल्लाभरबाट ३८५ जना प्रतिनिधि सहभागी हुँदै छन्। अधिवेशन सफल पार्न ११ समिति निर्माण गरेर कामको बाँडफाँड गरिएको छ। अध्यक्ष पौडेलका अनुसार कार्यक्रमका लागि सबै तयारी पूरा भएको छ।

अधिवेशनमा करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यो सबै खर्च पार्टीमा सङ्गठित भएकाहरूबाट नै सङ्कलन गरिने एमाले पर्वतका सचिव गोविन्द पहाडीले बताए। 

पार्टी र आम कार्यकर्ताहरूको हितका लागि सर्वसम्मत नेतृत्व चयनमा जोड दिने बताउँदै अध्यक्ष पौडेलले सहमति हुन नसके लोकतान्त्रिक विधिमार्फत स्वस्थ निर्वाचन हुने बताए। एउटै पार्टीभित्रका व्यक्तिबीचको प्रतिस्पर्धाको रूपमा लिनुपर्ने भन्दै सकेसम्म निर्वाचन हुने वातावरण नबनाउनेतर्फ सबै नेताहरूले भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

पार्टीको नवौँ अधिवेशनबाट सर्वसम्मत रूपमा एमाले पर्वतको अध्यक्ष बनेका पौडेल स्वयं नै १० औँ अधिवेशनबाट पुनः नेतृत्वमा आउन चाहेका छन्। यस्तै उपाध्यक्ष पदमपाणि शर्मा पनि पनि अध्यक्ष पदका दाबेदार हुन्। वर्तमान सचिव गोविन्द पहाडी पनि दाबेदार देखिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.