|
फाइल फोटो

काठमाडौं : चैत्र शुक्ल प्रतिपदासँगै वासन्ती नवरात्र शुरु भएको छ। मिथिला क्षेत्रमा ​नवरात्रको पहिलो दिन शक्तिपीठमा कलश स्थापना गरेर जमरा राखिँदै छ । शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ।

वासन्ती नवरात्रमा पनि शारदीयजस्तै कन्या कुमारीले नदी र तलाउबाट नयाँ घडामा भरेर ल्याएका  पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चन गरीकलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिने मिथिलाको परम्परा छ।  

महोत्तरीका प्रसिद्ध देवी शक्तिपीठ बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाइस्थित सोनामाई माई मन्दिर, जलेश्वर नगरपालिका-१  स्थित सन्सारी माई र राजदेवी मन्दिरमा आज कुमारी कन्याले रातु नदी र लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड एवं भार्गवसरलगायत तलाउबाट नयाँ शुुद्ध घडामा भरेको जल पुर्‍याइएको छ।

यसैगरी मधेशका प्राचीन मिथिला क्षेत्रका सप्तरीका सकरा भगवती, कङ्कालिनी माई, छिन्नमस्ता, जनकपुरस्थित राजदेवी मन्दिर र बारा जिल्लाको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा पूजित छन्। यी सबै शक्तिपीठमा नवरात्र आरम्भसँगै दुर्गा सप्तशती अर्थात् चण्डीपाठ पनि शुरु गरिएको छ । हिन्दू परम्पराका सबै मैथिल परिवारमा देवीको पूजाअर्चनासहित चण्डीपाठ गर्ने परम्परा छ।

मिथिलामा चैत शुक्लपक्षको नवरात्रभित्रै वासन्ती छठको परम्परा छ । छठ पनि वर्षमा शारदीय र वासन्तीजस्तै गरी दुईपटक मनाइन्छ । कार्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म चार दिन मनाइने शारदीय छठकै विधि जसरी चैत शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म वासन्ती छठ मनाउने परम्परा छ। 

वासन्ती नवरात्रको अन्तिम दिन नवमी श्रीरामको जन्मतिथि मानिन्छ। मिथिलासँग श्रीरामको वैवाहिक सम्बन्धले यहाँ यो पर्व अर्थात् रामनवमी (चैत्र शुक्ल नवमी) विशेष रूपमा मानिन्छ ।

यसपटक वासन्ती नवरात्रभित्रै नयाँ वर्ष २०८१ आरम्भ हुने हुँदा यस अवसरमा जुडशीतल पर्व पनि मनाइने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.