|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को रजिष्ट्रारमा आफ्नो दलनिकट व्यक्ति नियुक्ति गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकै सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको योजना विफल भएको छ।

सिफारिस गरिएका नामलाई नै त्रिविको रेक्टर र रजिष्ट्रार नियुक्ति गर्नुपर्ने त्रिविका उपकुलपति प्राडा केशरजंग बरालको अडानपछि उक्त योजना विफल भएको हो।

शुक्रबार त्रिविका उपकुलपति बरालको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले रजिष्ट्रारमा प्राडा केदार रिजाल र रेक्टरमा प्राडा खड्ग केसी नियुक्त गरेका हुन्।

त्रिवि ऐनअनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गर्ने व्यवस्था छ। तर,उपकुलपतिले सिफारिस गरिएको व्यक्ति भने प्रचण्ड र ओलीले झण्डै एक महिनासम्म नै राजनीतिक हस्तक्षेप गरेर रोकेका थिए। 

त्रिविका उपकुलपतिले रजिष्ट्रार र रेक्टर पद रिक्त भएपछि गत चैत ६ गते नै सूचना जारी गर्दै रजिष्ट्रार र रेक्टरका लागि इच्छुक प्राध्यापकहरूले ७ दिनभित्र बायोडाटा बुझाउन आवेदन माग गरेका थिए।

सोहीअनुसार उपकुलपति प्राडा केशरजंग बरालले चैत १५ मा रेक्टरमा प्राडा  केसी र रजिष्ट्रारमा प्राडा रिजालको नाम त्रिविका कुलपति एवं प्रधानमन्त्री प्रचण्डसमक्ष सिफारिस गरेका थिए।

तर, प्रचण्ड र ओलीले हस्तक्षेप गरे। त्रिविका उपकुलपतिको सचिवालयका अनुसार चैत २३ गते प्रधानमन्त्री दाहाल, ओली तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र उपकुलपति बरालबीच बालुवाटारमा यसबारे छलफल भएको थियो।

उक्त छलफलमा एमाले अध्यक्ष ओलीले प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्राडा वेदराज केसीलाई रजिष्ट्रार नियुक्त गर्नुपर्ने अडान लिए। त्यसपछि प्रधानमन्त्री प्रचण्डले पनि नियुक्तबारे पुनर्विचार गर्न त्रिवि उपकुलपति बराललाई निर्देशन दिए। तर उपकुलपति बराल भने सिफारिस भएकालाई नै नियुक्ति हुनुपर्ने अडानबाट पछि हटेनन्। 

किन भने उनले यसअघि देखि नै खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति नियुक्त हुनुपर्ने र आफ्नो टिम बनाउन अधिकार पाउनुपर्ने माग गर्दै आएका थिए।

त्रिवि उपकुलपति नियुक्ति हुने बेला पनि उनले रेक्टर, रजिष्ट्रार र भिसी एकेडेमिक‚ व्यवस्थापकीय र प्रशासकीय क्षमताका आधारमा नियुक्ति गर्नुपर्ने र यसका लागि आफूले उक्त टिम बनाउन पाउनुपर्ने माग प्रधानमन्त्री प्रचण्डसँग राखेका थिए।

तर, लामो समयसम्म हस्तक्षेप भएपछि उपकुलपति बराल बिदामै बसे। यता, प्रचण्ड र ओलीले उनीहरूको नियुक्ति प्रक्रियामा हस्तक्षेप गरेपछि चर्को आलोचना भयो। यति मात्रै होइन। दलीय हस्तक्षेपविरुद्ध  विद्यार्थीहरूले विरोध नै प्रदर्शन गरे। 

त्यस्तै, त्रिविका चारजना पूर्वउपकुलपतिहरूले पनि उपकुलपतिले आफ्नो टिम बनाई काम गर्ने सुविधा पाउनुपर्ने धारणा व्यक्त गरे। 

चैत २३ गते त्रिविका पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जंग शाहले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘उपकुलपतिले आफ्नो टिम बनाई काम गर्ने सुविधा पाउनुपर्छ। यसरी पदाधिकारीहरूको नियुक्तिमा ढिलो हुनु भनेको विश्वविद्यालयको नियमित काममा जानी नजानी अवरोध ल्याउनु पनि हो, योग्यताको आधारमा त्रिविका पदाधिकारीहरूको अविलम्ब नियुक्त गरेर उपकुलपतिको टिम पूरा गर्दै विश्वविद्यालयको नियमित काम सुचारू गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछौँ।’ 

को थिए ओलीले नियुक्त गर्न खोजेका मान्छे?

एमाले अध्यक्ष ओलीले नियुक्त गर्न चाहेका प्राडा केसी एमाले राजनीतिमा सक्रिय रहेको आरोप छ। उनी २०७८ चैत २५ र २६  चैतमा काठमाडौंमा सम्पन्न संगठनको दशौँ राष्ट्रिय सम्मेलनमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा निर्वाचित भएका थिए।

उक्त कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष ओलीले नै गरेका थिए। विशेष अतिथिको रूपमा भने एमालेका महासचिव शंकर पोखरेल थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.