|

काठमाडौं : हामी नेपालीहरू स्वभावले नै झगडालु हुन्छौँ। हरेक अवस्थामा झगडा गर्नु हाम्रो प्राकृतिक गुण हो। यही स्वभावले नै हामीलाई इतिहासमा वीर गोर्खाली बनायो र वर्तमानमा विचरा नेपालीसमेत बनायो।

त्यसैले यो हाम्रो वंशाणुगत पहिचान हो भन्दा फरक नपर्ला। स्वभाव नै झगडालु भए पनि झगडा गर्न केही न केही कारण त चाहिन्छ नै। झगडा गर्ने कारण पाइएन भने त हाम्रो देश पनि रामराज्य हुन्छ तर यो हाम्रो लागि सुहाउने कुरा पक्कै होइन।

हामी हरेक अवस्थामा झगडा गर्छौँ। गर्भावस्थामा आमासँग झगडा गर्छौँ। त्यति मात्र कहाँ हो र ? लात्ती हान्नसमेत पछि पर्दैनौँ। शैशवावस्था त रुवाबासीबाट नै सुरु हुन्छ। आनन्दले नौ महिना बिताएको स्थान छोडेर आउनुपर्दाको पीडामा झगडा गर्नु स्वाभाविकै हो। पूर्वबाल्यावस्था पनि बाबुआमा र आफ्नाहरूसँगको झगडामा नै बित्छ। मन परेको खानेकुरा र खेलौना नपाएकै झोकमा रडाँको मच्चाइदिन्छौँ। उत्तरबाल्यावस्थामा हाम्रो झगडा गर्ने दायरा केही फराकिलो बन्छ।

घर छोडेर साथीसंगीहरूसँग झगडा गर्नको निम्ति घरबाट बाहिर निस्कन्छौँ। किशोरावस्थाको पूर्व चरणमा साथीहरूसँग मिलेर अर्को समूहसँग झगडा गर्न थाल्छौँ। झगडा गरेरै आफ्नो अस्तित्व दर्शाउन वा आफ्नो अस्तित्व स्थापित गर्नकै निम्ति झगडा गर्न आफ्नो उमेर समूहका दौँतरी खोज्दै एक टोलबाट अर्को टोलसम्म पुग्छौँ। किशोरावस्थाको उत्तरखण्डमा हाम्रो झगडा गर्ने मैदान फेरि साँघुरिन खोज्छ।

विपरीत लिङ्गी प्रति आकर्षित हुनु र कुनै विपरीत लिङ्गीसँग मन मुटु मिलाउन सफल भएपछि उसैसँग दैनिक झगडा गर्नु यो उमेरको विशेषता हुन्छ। यो अवस्थामा एउटै विपरीत लिङ्गीप्रति अधिक दौँतरीहरूको नजर र आकर्षण जुध्नाले हुने झगडाहरू त छँदैछन्।

पूर्वयुवावस्थामा अध्ययनको निँहुमा क्याम्पस छिरेपछि विभिन्न पार्टीका भ्रातृ सँगठन र सहपाठीहरूका गुट उपगुट हाम्रो झगडाका माध्यम बनिदिन्छन्। युवावस्थाको मध्यकाल लाग्न थालेपछि फेरि झगडा घरभित्र प्रवेश गर्छ। लोग्ने स्वास्नीको झगडा परालको आगो भन्ने उखान त्यसै सार्थक भएको कहाँ हो र ? यो झगडा कतिबेला सल्कन्छ कतिबेला निभ्छ पत्तै हुँदैन अनि के कारणले झगडाको बीउ रोपिन्छ र के कारणले मासिन्छ भन्ने मेसो पनि पाउन गाह्रो पर्छ।

यही परालको आगो जस्तो झगडा गर्दा गर्दै घरमा झगडा गर्ने अरु एक दुईजना थपिएको पनि थाहा नै हुँदैन। त्यसपछिको समय अर्थात युवावस्थाको उत्तरखण्डमा प्रवेश गरिसकेपछि भने आफू झगडा गर्ने भन्दा पनि आफूसँग झगडा गर्नेको बोलवाला बढी हुन्छ अर्थात् सन्तानहरू आफूसँग झगडा गर्न लागि पर्छन्।

त्यही समयकै वरीपरी आफ्नै बाबुआमा सँग आफू पनि झगडा गर्ने मेसो पर्न सक्छ मतलव घरमा अंशवण्डाको परिस्थिति सामना गर्नुपर्ने हुनसक्छ अनि दाजुले बाआमा भाइतिर ढल्केजस्तो देख्ने अनि भाइले बाआमा दाजुतिर ढल्केजस्तो देख्ने हुँदा  झगडाले ताण्डब नृत्य प्रदर्शन गर्छ। यो परिस्थिति झेलिसकेपछि अब वयस्क अवस्थामा आफ्ना सन्तानको भविष्य सुन्दर बनाउने धुन शुरु हुन्छ। यतिबेला खल्ती व्यवस्थापनको जटिल परिस्थिति सिर्जना हुनाले धन सँगको जुहारी हेर्न लायकको हुन्छ।

बालककालमा घाँटीसम्म आउने गरी घोकेका अर्थशास्त्रका कुनै पनि सूत्र सारथी बन्न नसक्दा झगडाले मात्र नपुगेर यो बेलामा मानसिक द्वन्द्वकै सामना गर्नुपर्ने अवस्था समेत आइलाग्छ। त्यसपछि टुप्लुक्क आइपुग्छ वृद्धावस्था। यो अवस्थाको पिरलो झन् भनिसाध्य छैन।

यो अवस्थासम्म आइपुग्दा जिन्दगीले नभोगेका परिस्थिति, नसहेका दुःख कष्ट, नखाएका हण्डर, नगरेका रङ्ग रमाइलो अनि नलागेका रोग विरलै हुन सक्छन्। यो अवस्थामा सबैभन्दा बढी झगडा रोग र कालसँग गरिन्छ। रोग र काल दुवै चीज बलवान बनेर अगाडी आएपनि हार्ने छाँट देखेर मेलमिलाप गर्नतिर लाग्ने स्वभाव हाम्रो होइन त्यसैले  यी दुईसँग त मल्लयुद्ध नै चल्न पनि सक्छ। यसरी हाम्रो झगडालु जिन्दगीले आजीवन झगडा गरेरै बिट मार्ने बाटो समात्छ।

झगडाको विरुवा उम्रनको लागि झगडाको बीउ आवश्यक पर्छ। बीउ बिनाको विरुवा त हामी कल्पना पनि गर्न सक्दैनौँ। हाम्रो जस्तो अस्तव्यस्त देशमा अन्य वस्तुका बीउ पाउन कठिन होला तर झगडाको बीउ भने पाइला पाइलामा पाइन्छ त्यो पनि सजिलै।

यदि तपाईँलाई हरेक सेकेण्ड,हरेक मिनेट, हरेक घण्टा, हरेक दिन, हरेक हप्ता, हरेक महिना, वा हरेक वर्ष झगडा गर्न मन लाग्छ भने पनि सजिलै झगडाका बीउहरू भेट्नुहुन्छ। उदाहरणको लागि तपाईँ सामाजिक सञ्जालतर्फ नजर लगाउन सक्नुहुन्छ। त्यहाँ तपाईँले कसैले राखेका जन्मदेखि मृत्यु सम्मका र शुभकामना देखि श्रद्धाञ्जलि सम्मका लेख, अभिलेख र त्यहाँ आउने प्रतिक्रियामा अनेक असन्तुष्टिहरू सजिलै भेट्नुहुन्छ।

शिक्षा, स्वास्थ्य, रोजगारी, अर्थतन्त्र, देश, विदेश, राजनीति, रीति, कुरीति, खेल, झेल र जेल लगायतका हरेक गतिबिधिहरूमा सजिलै आफूलाई चित्त नबुझ्ने पर्याप्त क्रिया, प्रतिक्रिया पाइसकेपछि आफ्ना तर्क ठेलेर झगडामा उत्रिन तपाईँलाई इन्द्रेको बाउ चन्द्रेले पनि रोक्न सक्दैन। हुन त झगडा गर्नको लागि सामाजिक सञ्जालसम्म नै धाइरहनु पनि पर्दैन। आफ्नै घरमा बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म नै अनेक झगडाका बीउहरू सजिलै पाउनुहुन्छ। तपाईँ ढिलो उठ्नुभयो भने सोझै कुम्भकर्णको उपाधि पाउनुहुनेछ अनि छिटो उठ्नुभयो भने काम नभएको मान्छे त आनन्दले तेर्सिनु नि, कुखुरो नबास्दै उठेर अरुलाई किन अल्झाउनु ? भन्ने महावाणी।

खानेबेलामा समेत झगडाका अनेक तौरतरिका आइलाग्छन्। तपाईँलाई भात खान मन लाग्दा घरमा ढिँडो मस्किन्छ, रोटी ज्यूनारको इच्छा हुँदा भात छड्किन्छ। सबै कुराको मेसो मिल्दा समेत उसिनेर खान मन लागेको अण्डाको अम्लेट बन्छ, अम्लेट खान मन लागेको अण्डा उसिनिन्छ। यति भइसकेपछि झगडा गर्न अरु के नै आवश्यक पर्ला र ?उठेर सिरक पट्याउने बेला देखि सुत्नलाई सिरक फिँजाउने बेलासम्म तपाईँका हरेक गतिविधिहरू झगडाका बीउ बन्न पर्याप्त हुन्छन्।

सुतिसकेपछि पनि झगडाको मनस्थिति बन्यो भने सजिलै उन्नत जातका अनेक बीउहरू तत्काल भेटिन्छन्। दिन त जसोतसो बितिजान्छ नै तर झगडाको बीउ बोकेर फेरि हप्ता अगाडी सर्छ। प्रत्येक हप्ताले बोकेर ल्याउने शनिबार झगडाको अर्को बीउ हो। यस्तो लाग्छ कि छ दिनका अनेक तनावहरू भुलाउन नभएर सातौँ दिन फरक किसिमको तनाव झेल्न बाध्य बनाउन सरकारले शनिबार बिदाको व्यवस्था गरेको हो। जसरी भात खाँदा थालको छेउमा अलिकति तरकारी हुन्छ त्यस्तै हप्ताका छ दिनका जागीर, पेशा र व्यवसायका तनावको छेउमा शनिबारको बिदाको दिन झेल्नुपर्ने पारिवारिक तनाव हुन्छ।

यस्तै झगडालु चार वटा जति हप्ता बिताएपछि झगडाको अर्को बीउ बोकेर महिना मर्छ। महिनाभर दुःख गरेर ल्याएको तनखाले नै घर व्यवहार र तिरोतारो छुट्याएर आफ्नो भाग छुट्याउने बेलामा सोझै तँ नखा भनिदिन्छ, अनि यो भन्दा ठुलो झगडाको बीउ अर्को के होला र ?मासिक झगडाहरूमा जेनतेन बानी परिसकेपछि परिस्थितिले वार्षिक झगडाका बीउ वितरण गर्छ।

वर्षैपिच्छे आउने चाडपर्वहरू र आफन्तका विहेवारी तथा भोजभतेरहरू वार्षिक झगडाका बीउ हुन्। यी अवसरहरूले तपाईँको खल्ती र तपाईँको खल्तीमा प्रत्यक्ष परोक्ष रुपमा पहुँच राख्नेहरूसँग नै झगडाको बीजारोपण गरिदिन्छन्। झगडाका बीउको बरियतामा शीर्षक्रममा आउने अर्को बीउ हो विश्वकप फुटबल। यो यस्तो किसिमको झगडापर्व हो जुन पर्वमा तपाईँका जीउँदाका जन्ती र मर्दाका मलामी नै एक्कासी घोर दुश्मन बनिदिन्छन् अनि कहिल्यै नदेखेका, नभेटेका र जन्मजात कुनै साइनो नजोडिएकाहरू परममित्र लाग्छन्।

हाम्रो देशमा अर्को एउटा अद्भूत झगडाको बीउ पाइन्छ, त्यो हो स्थानीय तथा संसदीय चुनाव। निर्वाचित गराएर पठाएको चार वर्षसम्म गु लाग्नेहरू पाचौँ वर्ष शुरु भएपछि एक्कासी गोबर लाग्न थाल्छन् अनि तिनै व्यक्तिहरू अन्तिम एक महिनादेखि चुनावको दिनसम्म गुँदपाक लाग्न थाल्छन्। आँफूलाई गुँदपाक लाग्न थालेकाहरूलाई अझै पनि गु र गोबर ठान्नेहरू स्वयं जन्मदिने मातापिता नै किन नहोउन् तर ती सबैभन्दा ठुला शत्रु ठहरिन्छन् र आँफूले जस्तै गुँदपाक देख्नेहरू परममित्र।

त्यतिमात्र कहाँ हो र ? यो पर्वमा अर्को पार्टी छोडेर आफ्नोमा आउनेहरू स्वतः गुँदपाक हुन्छन् साथै आफ्नो पार्टी छोडेर अर्कोमा धाउनेहरू गु वा गोबर लाग्छन्। यो चुनावी पर्वले पनि हाम्रो देशमा अनेक गुणस्तरका झगडाका बीउहरू उत्पादन गर्छ।

कृषिप्रधान भनेर परिचित हाम्रो देशमा दैनिक आवश्यक पर्ने अनेक किसिमका उत्पादनजन्य बीउबीजनहरू आवश्यक परेको समयमा कहिल्यै र कतैपनि सर्वसृुलभ रुपमा उपलब्ध हुँदैनन् तर झगडाका बीउ भने पाइला पाइलामा र आवश्यकता अनुसार सजिलै पाइन्छन्। त्यसैले त आज हामीहरू अहिलेका हामीजस्ता हुन पाएका छौँ र हामीलाई अहिलेका हामीजस्ता हुनुमा बेग्लै किसिमको गर्व छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.