|

विराटनगर : कोशी प्रदेशको लोकसेवा आयोगले गत चैत २६ गते खोलेको नवौँ तहको विज्ञापनप्रति निजामती कर्मचारीहरुले आपत्ति जनाएका छन्।

कोशी प्रदेश लोकसेवा आयोगले गत चैत २६ गते खोलेको नवौँ तहको विज्ञापन प्रदेश निजामती ऐनविपरीत भएको भन्दै आठौँ तहका लेखा अधिकृतहरू रुष्ट बनेका हुन्। 

आयोगले नवौँ तहको कुल १६ पदमा २२ जना कर्मचारी माग गर्दै विज्ञापन खोलेको थियो। लोकसेवाले खोलेको उक्त विज्ञापन प्रदेश निजामती सेवातर्फ नवौँ तहका विभिन्न सेवा, समूह र उप–समूहको प्राविधिक तथा अप्राविधिक पदका लागि थियो। 

लोकसेवाले गरेको उक्त विज्ञापन नियमसंगत नरहेको भन्दै आठौँ तहका लेखा अधिकृतहरूले रद्द गर्न माग गरेका छन्। लोकसेवाले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) नै नगरी विज्ञापन खोलेको भन्दै आठौँ तहका लेखा अधिकृत भगवानमान श्रेष्ठले अन्य कार्यरत कर्मचारीको वृत्ति विकासमा अवरोध पुगेको बताए।

कोशीका लेखा अधिकृतहरूले आयोगको विभेदपूर्ण विज्ञापन रद्द गर्न भन्दै गत चैत ३० गते मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवलाई पत्र पठाएका थिए। लोकसेवाले विज्ञापन आह्वान गर्नुअघि ओएनएम गर्नुपर्ने भए पनि त्यसो नगरी विज्ञापन खुलाउनु ऐनविपरीत रहेको उनीहरुको भनाई छ। 

प्रदेश निजामती सेवा ऐनको दफा ८ मा कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको लागि अधिकृत आठौँ तहसम्मको पदमा सम्बन्धित सेवा, समूह वा उप–समूहको एक तहमुनिको पदको कर्मचारी तथा नवौँ र दशौँ तहको पदमा न्यूनतम सेवा अवधि र न्यूनतम योग्यता पूरा भएका सम्बन्धित सेवाको कर्मचारीहरू सम्भाव्य उम्मेदवार हुने व्यवस्था छ। 

ऐनमा भएको उक्त व्यवस्थाको माध्यमबाट नवौँ तहको पदमा सबै समूह र उप–समूहको कर्मचारीको वृत्ति विकासको बाटो खोलिएको छ तर लोकसेवाले उक्त व्यवस्थाविपरीत विज्ञापन खुलाएको आरोप लगाएर रुष्ट भएका अधिकृतहरूले अदालत जाने तयारी गरेको लेखा अधिकृत तुलसी श्रेष्ठले बताए।

यसअघि प्रदेश सरकारले डा. चन्द्रकुमार घिमिरेको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय प्रशासन सुधार कार्यदलले पनि ओएनएम नभएका कारण कतिपय कार्यालय बोझिला र खर्चिला बन्दै गएको औँल्याएको थियो। 

प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत ओएनएम गर्ने उल्लेख गरिएको छ तर लोकसेवाले उक्त सबै व्यवस्था नजरअन्दाज गर्दै विज्ञापन खोलेपछि लेखा अधिकृतहरुले असन्तुष्टि व्यक्त गरेका हुन्। 

कोशी प्रदेश लोकसेवा आयोगले भने प्रदेश निजामती सेवा ऐनकै व्यवस्थाबमोजिम विज्ञापन खोलेको दावी गरेको छ। कोशी प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष टीकादत्त राईले निजामती सेवा ऐनकै व्यवस्थाअनुसार विज्ञापन गरिएको बताए।

ओएनएम गर्ने कुरा जुन दफामा उल्लेख भए पनि दफा ८ को उपदफा १ बमोजिम संघीय सरकारबाट हस्तान्तरण भएका पदहरूमा भने पदपूर्ति गर्न यो ऐनले बाधा नपुर्‍याउने भनेका कारण विज्ञापन आह्वान गरिएको उनले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.