गण्डकी प्रदेशमा सबैभन्दा बढी नोक्सान म्याग्दीमा

|

म्याग्दी : गण्डकी प्रदेशका ११ जिल्लाहरूमध्ये डढेलोले सबैभन्दा बढी नोक्सान म्याग्दी जिल्लामा पुर्‍याएको छ। डेढ महिनाको अवधिमा डढेलोले म्याग्दीको करिब सात सय हेक्टर वन क्षेत्र ध्वस्त बनाएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ।

डिभिजन वन कार्यालय म्याग्दीका अनुसार गत फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ वटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ। 

डढेलोका कारण जिल्लाको ६ सय ९३ हेक्टर वन क्षेत्र ध्वस्त भएको छ। गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ।

भिरालो क्षेत्रमा लागेको डढेलोले ग्रामीण वस्तीलाई नै त्रसित बनाएको स्थानीयले बताएका छन्। वन क्षेत्र डढेलोका कारण कालो देखिएको छ भने रुख,बोट विरुवा,वनस्पति र पक्षी तथा जंगली जनावरहरू समेत डढेर खरानी भएका मालिका गाउँपालिका ६ का टेकबहादुर पुनले बताए।
जिल्लाको बेनी नगरपालिका लगायत मालिका,मंगला,रघुगंगा,धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न जंगलहरूमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्याल्य म्याग्दीका प्रमुख विष्णु अधिकारीले जानकारी दिए।

कतिपय वनहरूमा आगो नियन्त्रणमा आइसकेको छ भने कैयौं वनमा अझै पनि धुवा पुत्याइरहेको देखिन्छ। दैनिक रुपमा आगलागी हुने क्रम बढ्दै गएको र आगलागी नियन्त्रणका लागि स्थानीय समुदाय,सुरक्षाकर्मीहरूलाई उपकरण वितरणसहितका कार्य गरिएको डिभिजन प्रमुख अधिकारीको भनाइ छ।
डढेलोबाट बचेका वन्यजन्तु गाउँ गाउँमा

डढेलोका कारण कैयौं वन्यजन्तुहरू डढेर खरानी भएका छन् भने बचेका जंगली जनावरहरू गाउँ गाउँमा पसेर स्थानीयलाई दुःख दिइरहेका छन्।
जिल्लाको मालिका र मंगला गाउँपालिकाका विभिन्न ठाउँहरूमा डढेलो लागेपछि वन्यजन्तुहरू वासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन्।

 ‘खेतबारीमा लगाएको बाली र तरकारी खेती बँदेल र बाँदरले नष्ट गरे। हुँदाहुँदा अब त घर भित्र नै पसेर हैरान पार्न थालेका छन्’ मंगला गाउँपालिका ५ का किसान टिकानाथ कडेंलले भने।

कडेंलका अनुसार बँदेल, दुम्सी र बाँदर गाउँमा मात्रै होइन घर भित्र नै छिर्न थालेका छन्। उता मालिका गाउँपालिकाको वडा नं ६ उपल्लो दुखु,वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँलेले सास्ती व्यहोर्नु परिरहेको छ।

मालिका गाउँपालिका वडा नं ६ उपल्लो दुखुकी डिलकुमारी रोका भन्छिन्, ‘बालीनाली जनवारलाई नै लगाइदिए जस्तै भयो।’

खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घर भित्र राखेको भकारी तथा भान्छामा पकाएको खानेकुरा समेत खाइदिन थालेका उनले बताइन्।

खेतबारीमा बाँदर र बँदेलले तथा घर आँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेका किसान बताउँछन्। दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि पश्चिम म्याग्दीका किसानको हैरानी बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.