|

गुल्मी : जिल्लाको इस्माका आगलागीपीडितलाई मकैको बीउ सहयोग गरिएको छ। तम्घास निवासी गाउँले किसान भेटका सञ्चालक महेन्द्र पोखरेलले मनकामना जातको मकै र काँक्राको बीउ प्रदान गरेका हुन्।

आगलागीले मकै छर्ने समयमा बीउ जलेर सखाप भएका व्यक्तिको सहयोगका लागि २७ जना आगलागीपीडितलाई प्रतिघर किलोका दरले प्रदान गरेका हुन्। अहिले पानी परे किसानहरू मुख्य बाली मकै छर्ने तयारीमा छन् तर उनीहरूको बीउ सबै आगोमा परेर नष्ट भएको छ। पोखरेलले घाइते पशुको उपचारका लागि पनि सहयोग गरेका छन्।

जिल्लाको इस्मा गाउँपालिकामा आगलागीबाट १९९ जना व्यक्ति प्रभावित भएका छन्। वैशाख ८ गते शनिबार दिउँसो स्थानीय सामुदायिक जंगलबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षति भएको थियो।

घर जल्दा खुला आकाशमुनि बस्न बाध्य व्यक्तिहरू अहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन्। आगलागीबाट इस्मा गाउँपालिकाका विभिन्न वडामा क्षति पुगेको छ।

इस्मा गाउँपालिका–२ को सिदुङखा‚ हाडीखोला, मैनडाँडा, वडानम्बर–४ को कोटकोटेरी टिम्लेखर्क, मडकिन र वडानम्बर–६ को बुल्ममा आगलागीबाट २६ वटा घर र ४९ वटा गोठ जलेर नष्ट भएका छन्। आगलागीमा एउटा ट्याक्टरमा आगलागी हुँदा २ जना घाइते भएका छन्। ५६ वटा पशुचौपाया जलेर नष्ट भएका छन्।  

आगलागी​पीडितहरूका लागि विभिन्न संघसंस्थाले राहत सामग्री प्रदान गर्ने क्रम बढ्दै गएको छ। जिल्ला र जिल्ला बाहिरबाट विभिन्न संघसंस्थाले आगलागपीडितका लागि सामग्री पुर्‍याउने काम गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.