|

रौतहट : रौतहटको मौलापुर नगरपालिकाका एक युवाले मोटरसाइकलमै मिल बोकेर हिँड्ने गरेका छन्। मोटरसाइकलमा एक क्विन्टल चना र मिल बोकेर उनी गाउँगाउँ चहार्दै हिँड्ने गरेका छन्।

मोटरसाइकलमै मिल र चना बोकेर उनी चनाको सातु बिक्री गर्दै हिँड्ने गरेका छन्। मौलापुर नगरपालिका वडा नं–६ पथर बुदराम घर भएका ४० वर्षीय चन्द्रिका प्रसाद जयसवालले दिनकै चनाको साथ बेचेर १५ सय देखि २ हजार सम्म कमाउने गरेका छन्।

बिहान मौलापुरस्थित घरबाट निस्कने जयसवाल दिनभर विभिन्न गाउँमा डुलेर चनाको सातु मान्छेकै आँखा अगाडि पिँधाएर बेच्ने गरेका छन्। प्रतिकिलो २०० मा जयसवालले चनाको साँचो किन्नेहरूकै अगाडि चहना बिसाएर सातु बनाएर दिने गरेका छन्।

विगत तीन वर्षदेखि आफ्नो मोटरसाइकलमा सानो मिल राखेर चनाको भारी बोक्दै गाउँगाउँ चहार्दै आएका जयसवालले चनाको व्यापारबाट आफू सन्तुष्ट रहेको बताएका छन्।

बिहानको खाना घरबाट खाएर निस्कने जयसवालले साँझ घर पुग्दा १५ सय देखि २ हजार खुदनाफा कमाउने गरेको बताए।

बिहान खाना खाएर घरबाट निस्कने जयसवालले ४० किलोमिटर उत्तरको चन्द्रनिगाहपुरसम्म आएर चनाको सातु  बिक्री वितरण गर्दै आएका छन्।

दिनमा आफूले मोटरसाइकलमै जडान गरेको मिलबाट करिब एक क्विन्टल चनाको सातु बनाएर बिक्री गर्ने गरेको जयसवालले सुनाए। मेहनत गरे गाउँघरमै डुलेर पनि मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने कुराको गतिलो उदाहरण बनेका जयसवाललाई चैत महिनादेखि असोज महिनासम्म चहना किनेर ल्याएर गाउँ गाउँमा सातु बनाएर दिनमै फुर्सद हुने गरेको छैन।

वीरगञ्जबाट चना किनेर ल्याएर ग्राहककै अगाडि पिँधेर सातु बनाएर दिँदा ग्राहकसमेत खुसी हुने गरेकाले आफूलाई ग्राहकले फोन गरी गरी बोलाउने गरेको जयसवालको भनाइ छ।

आँखै अगाडि राम्रो चनाको सातु पिलाएर दिने गरेका कारण हरेक वर्ष आफूले जयसवालालाई फोन गरेर घरमै बोलाएर सातु किन्ने गरेको चन्द्रनिगाहपुरका स्थानीय व्यापारी राजेन्द्र तिवारीको भनाइ छ। चनाको सातुवालाको उपनामले प्रख्याति कमाइसकेका जयसवालालाई रौतहट जिल्लाका विभिन्न बजार तथा गाउँबाट चनाको साटो लिएर आउन फोन आउने गरेका कारण उनलाई यो सिजनमा भ्याइ नभ्याई हुने गरेको छ। तराई मधेशमा स्वादिलो भोजनका रूपमा लिने चनाको सातु खानेहरूको जमात ठूलो रहेको  छ। उनलाई चनाको सातु ल्याइदिनु पर्यो भनेर फोन गर्नेहरूको फोन उठाउनसमेत भ्याइ नभ्याई हुने गरेको जयसवालले बताएका छन्।

जयसवाल साँझ सबै खर्च कटाएर १५ सय देखि २ हजार लिएर घरमा छिर्ने गरेको बताउँछन्। गाउँघरमा काम छैन विदेश जानुपर्यो भन्दै पासपोर्ट बनाउन हिँड्ने युवाहरूका लागि जयस्वाल यतिबेला गतिलो उदाहरणका रुपमा प्रस्तुत भएका छन्। उनी भन्छन् मेहनत गरे ५०–६० हजार कमाउनको लागि अरुको देशमा जानै पर्दैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.