|

काठमाडौँ : पछिल्लो समय सामाजिक सञ्जालमा एउटा पोष्ट भाइरल छ। जहाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको तस्वीरसहित जाेडेर लेखिएको छ, ‘अब तपाईं कतै स्टेशनरी जानुपर्दैन, आफूलाई चाहिने कक्षाको आफ्नो विषय डाउनलोड गरि हेर्न सक्नुहुन्छ,आफूलाई चाहिने (कक्षा १ देखि १०) सम्मका नेपाली र अङ्ग्रेजी माध्यमका) पाठ्यपुस्तकहरू तलका लिङ्कबाट डाउनलोड गर्नुहोला।’

उपलब्ध गराइएकोमा कक्षा १ देखि १० सम्मको सबै विषयको अंग्रेजी र नेपाली दुवै माध्यममा पाठ्यसामग्री राखिएको छ। यी पाेष्ट यतिखेर सामाजिक सञ्जालमा एकपछि अर्काेले शेयर गर्दै शिक्षामन्त्री श्रेष्ठकाे तारिफ गरिरहेका छन्।

ती नै पोष्ट शेयर गर्दै सामाजिक सञ्जालमा समीरविक्रम थापाले लेखेका छन्, ‘बिग सलुट शिक्षामन्त्री सुमना श्रेष्ठ, सुमना श्रेष्ठको सचिवालय।’ अर्का फोल मगरले पनि पोष्ट शेयर गर्दै भनेका छन्, ‘राम्रो काम माननीय शिक्षामन्त्रीज्यू।’

यसले आम विद्यार्थी र अभिभावकहरूको समेत ध्यान खिचेको छ। त्यसैले के साच्चै पुस्तक किन्न कतै स्टेशनरी जानुपर्दैन हो भन्ने विषयमा जिज्ञासा राख्दा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले पुस्तक किन्नुपर्ने रहेको बताए।

उनले भने, ‘पाठ्यक्रम विकास केन्द्रले डिजिटल पुस्तक उपलब्ध गराएको होला तर पुस्तक त किन्नु परिहाल्छ।’

उनका अनुसार डिजिटलबाट पढ्न मन हुने विद्यार्थीहरूले पढ्न सक्छन् तर यो इन्टरनेटको माध्यमबिना हुँदैन। इन्टरनेटको पहुँच नभएका ठाउँमा डिजिटल पुस्तक पढ्न सकिँदैन।

पाठ्यक्रम विकास केन्द्रकी सूचना अधिकारी कुन्ती अधिकारीले पाठ्यपुस्तक किन्नै नपर्ने वा किन्न पुस्तक पसल जानै नपर्ने खालका त्यस्तो केही निर्णय पनि नभएको जानकारी दिइन्। ‘त्यस्तो केही निर्णय छैन, यसबारे जानकारी पनि छैन,’ उनले भनिन्। 

श्रेष्ठ शिक्षामन्त्री भएपछि याे व्यवस्था भएको चर्चा पनि व्यापक भएको छ तर पाठ्यक्रम विकास केन्द्रले यसअघिदेखि नै आफ्नो वेबसाइटमा केन्द्रबाट स्वीकृत पाठ्यसामग्रीहरूका डिजिटल संस्करण राख्दै आइरहेको थियाे। केन्द्रले यसपटकदेखि मात्र आफ्नो वेबसाइटमा पाठ्यपुस्तकका डिजिटल संस्करण राख्न थालेको होइन।

अहिले पनि दोस्रो भाषाको रूपमा नेपाली भाषा सिकाइका लागि शिक्षण स्रोत सामग्री, भोट भाषा कक्षा, बौद्व दर्शनलगायत विषयका डिजिटल सामग्रीहरू वेबसाइटमा उपलब्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.