|

म्याग्दी : जिल्लाको रघुगंगा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौदेखि त्रिपालको ओतमुनि रहेको छ।

तातोपानी कुण्डमा डुबेर उपचार गराउने विरामीहरुहरूमा त्यहाँसम्म जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा जस्तापाताको छाना नहाल्दा त्रिपालको ओतमुनि बसेर बिरामीहरु तातोपानी कुण्डमा डुब्न वा स्नान गर्न बाध्य छन्।

अघिपछि कुनै समस्या नहुने भए पनि ठूलो पानी पर्दा र चर्को घाम लाग्दा भने समस्या उत्पन्न हुने र बिरामीहरुले सास्ती व्यहोर्नु पर्ने कुण्डमा डुब्न आएका चिमखोलाका शेरबहादुर पुनले बताए।

दर्मिजा गाउँको पुछारमा रघुगंगा नदीको किनारमा रहेको यस कुण्डको मुहानबाट ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ।

प्राकृतिक तातोपानीमा डुब्दा विभिन्न रोग निको हुने विश्वास गरिन्छ। यस अगाडि सानो पोखरी रहेकोमा तीन  वर्ष अघि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद पुनले जानकारी दिए।

रघुगंगा नदीको किनारमा अलग–अलग ठाउँमा चारवटा पोखरी बनाइएको छ। कुण्डमा जाने ठाउँको दक्षिणतर्फ जल बराहको मन्दिर छ। मुख्य कुण्डको माथि त्रिपाल हालेर घाम पानी छेक्ने बनाइएको अध्यक्ष पुनले जानकारी दिए।

मन्दिरको दाहिनेतर्फ रहेको तातोपानीको पोखरीमा त्रिपालको छाना हालिएको छ। सो पोखरीमा एकपटकमा २५ जनासम्मले डुबेर उपचार सेवा लिँदै आएका छन्। मन्दिरको देब्रेतर्फ सानाठूला गरी तीनवटा पोखरी छन्। एउटा पोखरीमा २० जना, अर्कोमा १० जना र तेस्रो पोखरीमा पनि १० जनाले एकसाथ बसेर डुब्न सक्नेगरी पक्की पर्खालसहित निर्माण गरिएको छ।

यी पोखरी निर्माण गर्न जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ३५ लाख सहयोग गरेको थियो। कोरोनाको जोखिमका बेलामा पनि स्थानीय मजदुर परिचालन गरी पोखरी निर्माण गरिएको दर्मिजा तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ।

५० डिग्री सेल्सियसभन्दा बढी तातोपानी निस्कने मुहान यहाँ रहेको छ। सो मुहानको पानी संकलन गरे छालासम्बन्धी रोग, चोटपटक, बज्रिएको, सुन्निने जस्ता समस्याहरू निको हुने विश्वास छ।

यहाँ स्नान गर्न आउने पाहुना तथा पर्यटकहरूलाई बस्न मिल्ने स्थानहरूको निर्माण पनि यसअगाडि भइसकेको स्थानीय ललिता गर्वुजाले बताउनुभयो। यस पोखरीको नजिक एउटा आकर्षक झरनासमेत रहेको छ।

यस स्थानलाई सुरक्षित राख्नका लागि अहिले तटबन्धको कार्यसमेत भइरहेको समितिले जनाएको छ। यहाँ डुबेर उपचार सेवा लिनका लागि रघुगंगा गाउँपालिकाका विभिन्न ठाउँहरुबाट बिरामीहरु आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.